INSEC Online

📅 २०८३ जेष्ठ २१

आर्थिक अभाव र भौगोलिक विकटताले आधारभूत शिक्षाभन्दा बाहिर लोपोन्मुख कुमाल बालबालिका

जिल्लाको उत्तरी क्षेत्रमा पर्छ षडानन्द नगरपालिका त्यहि नगरपालिकाको काखमा छ मथेटार भन्ने गाउँ । अरूण नदीको किनारमा पर्ने यो गाउँमा लोपोन्मुख कुमाल समुदायको बस्ती छ । बस्तीमा ३० घर कुमाल समुदायका मानिसहरू वसोबास गर्छन् । उनीहरू मध्ये ५÷६ परिवारको त आफ्नो घर जग्गा नै छैन । अरूकै जग्गामा बबनिुतो गरेर जीवन निर्वाह गरिरहेका छन् । त्यस्तै यस समुदयका मानिसको दिनचर्या कुटो कोदालो, माटाको भाँडा, तथा अरूण नदीमा गएर माछा मारेर खानाको जोहो गर्दै बित्छ । उनीहरूलाई बिहान बेलुकाको छाक टार्नै समस्या हुने गरेको छ ।

गरिबीकै कारण कुमाल समुदायका अधिकांश बालबालिका शिक्षाको पहुँच बाहिर छन् । गाउँमै जनचेतना आधारभूत विद्यालय छ । तर, कुमाल समुदायका बालबालिका पढ्न जाँदैनन् । आर्थिक अभावका बीच आधारभूत शिक्षा हासिल गरेपनि माध्यामिक शिक्षा लिनका लागि अर्काे जिल्ला सङ्खुवासभा जानुपर्छ । त्यो पनि खोलामा पुल नहुँदा समस्या छ । शिक्षा लिनका लागि जिल्लामै रहेको अरूण माध्यमिक विद्यालयमा पुग्न कुमाल समुदायका बालबालिकालाई तीन घण्टा भन्दा बढी समय हिड्नु पर्ने बाध्यता छ ।

कुमाल समुदायका बालबालिका एक त आधारभूत शिक्षा लिन नआउने र आएका हरूपनि मावि शिक्षाका लागि अरूण माध्यमिक विद्यालय पुग्नु पर्ने गरेका कारण शिक्षाप्रति गम्भीर नभएको अरूण माविका शिक्षक श्रीकृष्ण बोगटी बताउँछन् । शिक्षक बोगटीले भने–‘कुमाल समुदयका अधिकांश शिक्षाको पहँंच बाहिर छन् । विद्यालय शिक्षाको लागि सङ्खुवासभाको तुम्लीङटार जानु पर्छ । अरूण नदीमा पुल छैन । गरिबीका कारण पनि कुमाल समुदायले उच्चशिक्षा समेत हासिल गर्न गार्‍हो छ ।’

राज्यले निशुल्क शिक्षाको व्यवस्था गरेको भए पनि यस समुदायमा बालबालिकालाई विद्यालय जान कापीकलम किन्न समस्या छ । परिवारका अभिभावक नै अशिक्षित भएका कारण उनीहरूले आफ्ना छोराछोरीलाई समेत स्कुल पठाउँदैनन् । बालबालिका अलिक ठूला भएपछि आफ्नै पेसामा काम गर्न लगाउने गरेका छन् । ३० घर कुमाल बस्तीमा करिब १ सय ५० को हाराहारीमा बालबालिका छन् । ति मध्ये ३५ जना बढी बालबालिका स्कुल जाँदैनन् ।

अन्य

भिडियो