घर भन्दा विद्यालय नजिक र पायक ठाउँमा नहुँदा माझी समुदायका बालबालिका बीचमै पढाइ छाड्न बाध्य भएका छन् ।
नजिक भनिएको मावि पुग्न नै साँढे तीन घण्टा लाग्ने भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटका माझी समुदायका बालबालिका आधारभूत तहबाटै विद्यालय छाड्न बाध्य भएका छन् ।
विद्यालय पायक पर्ने स्थानमा नभएकाले धेरै बालबालिकाले बीचमै पढाइ छाड्न बाध्य भएको सोही स्थानमा रहेको पञ्चकौशिका आधारभूत विद्यालयका प्रधानाध्यापक पवनकुमार वस्नेतले बताए ।
२४ घर माझी समुदाय रहेको क्षेत्रबाट सुव्बा माझी, भीम माझी र पदम माझी तीन जनाले मात्रै एसएलसी उतीर्ण गरेका छन् ।
नजिकमा माध्यमिक तहका विद्यालय नभएकै कारण स्थानीय सुजन माझी, सुजन माझी (क), डगेन्द्र माझी, कुशल माझी, विशाल माझी, मनकुमारी माझीलगायतले कक्षा–८ उतीर्ण गरी विद्यालय पढाइ छाडेका छन् ।
आर्थिक अवस्था कमजोर भएका माझी बालबालिकाले माध्यमिक तहको पढाई पूरा गर्नका लागि डेरा लिएर बस्नुपर्ने अवस्था आएपछि पढाइ नै छाड्ने गरेको प्रअ बस्नेतको भनाई छ ।
सगरमाथा राजमार्गमा पर्ने भण्डारेघाटस्थित पञ्चकौशिका आधारभूत विद्यालयमा १ सय ९७ विद्यार्थीमध्ये ६७ विद्यार्थी माझी समुदायका रहेका छन् ।
नजिकमा मावि विद्यालय नहुँदा माझी समुदाय मात्र नभई अन्य जातजातिका विद्यार्थी समेत पढाई छाड्न बाध्य छन् ।
वि.सं. २०४८ सालमा स्थापना भएको उक्त विद्यालयलाई यसै शैक्षिक सत्रबाट स्तरोन्नती गरी कम्तीमा १० कक्षासम्मको पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । पढ्न पाउने अधिकार सुनिश्चित गर्न गाउँपालिकालाले पहल गर्ने अध्यक्ष राईको भनाइ छ ।