INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद कसुरमा नौ महिना कैद सजायको फैसला

आठराई गाउँपालिका–७ की २२ वर्षीया एलिसा विश्वकर्मालाई ०८२ भदौ ११ गते जातीय विभेद तथा छुवाछूत गरेको कसुरमा जिल्ला अदालतले सोही ठाउँकी ३२ वर्षीया तारादेवी खतिवडालाई नौ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको ०८२ माघ १८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै नौ महिना कैद सजायसँगै २५ हजार रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला भएको श्रेस्तेदार नरहरि ढकालले बताउनु भयो ।

आठराई गाउँपालिका–७ पिप्लेकी ३२ वर्षीया खतिवडाविरुद्ध ०८२ भदौ ११ गते जातीय विभेद गरेको आरोपमा पीडित पक्षले भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितलाई खतिवडालाई प्रहरीले भदौ १६ गते गिरफ्तार गरेको थियो ।

आरोपितविरुद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०८२ भदौ ३० गते जातीय विभेद शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश दिलकुमार बर्देवाको भदौ ३१ गतेको आदेशले ३ लाख रुपियाँ धरौटी माग गरेकोमा सोही दिन धरौटी बुझाएर खतिवडा रिहा भएको श्रेस्तेदार रितु राईले बताउनु भयो ।

आठराई गाउँपालिका–७ नाम्जाङ्गस्थित नाम्जाङ्ग आधारभूत विद्यालयमा ०८२ भदौ ११ गते तीज कार्यक्रममा खाजा खाने क्रममा आरोपितले तपाईले छोएको खाना अरूले खान नमानेको भन्दै जातीय विभेद गरेको आरोपमा पीडितले प्रहरीमा उजुरी दिनु भएको थियो ।

नाम्जाङ्ग आधारभूत विद्यालयकी आरोपित प्रधानाध्यापक तारादेवी खतिवडाले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा आफूले सधैँ एलिसा मिससँगै खाजा खाने गरेको तर, भदौ ११ गते तीज कार्यक्रममा ज्येष्ठ नागरिकसमेत आउने भएकाले भान्साभन्दा अलि अलग बस्न मात्र भनेको बताउनु ।

प्रधानाध्यापक खतिवडाले जातीय विभेद गरेको आरोपमा ०८२ भदौ १३ गते जात व्यवस्था उन्मूलन मोर्चा, भदौ १४ गते सङ्घीय लिम्बूवान जातीय मञ्च र भदौ १५ गते आठराई सचेत नागरिक समाजले विज्ञप्ति जारी गरी घटनाको विरोध गरेका थिए ।

सुरेश खत्री

अन्य

भिडियो