प्रतिनिधिसभा निर्वाचनका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा ५५ मतदानस्थल अति संवेदनशील रहेको छ ।
दुई निर्वाचन क्षेत्रमा १ सय ७ मतदान स्थल र २ सय ३० मतदान केन्द्र छन् । त्यस मध्ये ५५ मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
जिल्ला सुरक्षा समितिले गरेका विश्लेषण अनुसार ५५ मतदान स्थल अति संदेशनशील, २४ संवेदनशील र २८ सामान्य रहेको जिल्ला सुरक्षा समितिका संयोजक एवम् बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
सुरक्षा संवेदनशीलता, मतदाताको सङ्ख्या, भौगोलिक विकटता, सडकको पहुँच, मतदानस्थलको पूर्वाधार र यस अघिका निर्वाचनको गतिविधिका आधारमा रहेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थललाई वर्गीकरण गरिएको सुरक्षा समितिका संयोजक आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार संवेदनशीलताको आधारलाई मापन गरेर सुरक्षा व्यवस्था मिलाइएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा एक मतदान स्थल थप गरिएको छ भने एउटा मतदान केन्द्र घटाइएको छ । दुई मतदानस्थललाई स्थानान्तरण गरिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो । फागुन २१ गते हुने निर्वाचनमा १ लाख ९३ हजार ३ सय ८१ मतदाता रहेका छन् ।