१२ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिका–४ का २७ वर्षीय शंकर भन्ने लिलाराम तेलीलाई २३ वर्ष कैदको सजाय गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको ०८२ पुस २४ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई २३ वर्ष कैद सजाय, ७ लाख जरिवाना वापत असुल गर्ने र थप १ लाख क्षतिपूर्ति बापतको रकम पीडितलाई भराई दिने र ३ हजार २ सय पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितले पीडितलाई २०८१ भदौ ४ गतेदेखि भदौ २५ गतेसम्म भारतको गाजियावादमा पुरयाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा अपहरण तथा शरीर बन्धक बनाई जवरजस्ती करणी सम्बन्धी कसुरमा उजुरी दिएका थिए। प्रहरीले आरोपितलाई भदौ २५ गते गते नेपाल भारत सीमानाबाटै गिरफ्तार गरी पीडित बालिकाको उद्दार गर्यो । पीडितको स्वास्थ्य परीक्षण भदौ २५ गते भिम अस्पताल भैरहवामा भयो ।