INSEC Online

📅 २०८३ जेष्ठ २१

घाइतेलाई उपचार खर्च उपलब्ध गराउने मुख्यमन्त्री शाहीको प्रतिबद्धता

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले ०७२ भदौ २३ गतेदेखि सुर्खेतमा भएको सीमाङ्कनको विरूद्ध आन्दोलनको क्रममा घाइतेहरूको उपचार खर्च तथा थप उपचारका आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

सो आन्दोलनका घाइते दैलेखका २८ वर्षीय नरबहादुर पुरी, धाधिङका ३८ वर्षीय रामबहादुर श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नपा–६ का २२ वर्षीय अनिष पन्तले आफूहरू घाइते भएको तीन वर्ष बितिसक्दा पनि उपचार खर्च तथा काठमाडौँ जाँदा जहाजमा लागेको यात्राखर्च नपाएको भनी इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतमा माघ १८ गते निवेदन दिएका थिए ।

पीडितहरूले दिएको निवेदनको आधारमा पीडितहरू सहित इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी र फोकल पर्सन दुर्गा थापाले माघ २२ गते मुख्यमन्त्री शाहीसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

मुख्य मन्त्री शाहीले सीमाकङ्नको विरूद्धको आन्दोलनमा ज्यान गुमाएका र घाइतेहरूप्रति आफू संवेदनशील बनेको र सहिदहरूको सम्मान तथा घाइतेहरूको थप उपचार र रोजगारीको व्यवस्थापन गर्न प्रदेश सरकार लागि पर्ने बताए ।

सीमाङ्कन विरूद्ध भएको आन्दोलनको क्रममा गत साउन २५ गते प्रहरीको गोलीबाट सख्त घाइते भएका पुरी, श्रेष्ठ र पन्तलाई नेपालगञ्ज हुँदै थप उपचारको लागि काठमाडौँ लैजाँदा लागेको ३ लाख ६२ हजार ५ सय रुपियाँ हालसम्म नपाएको घाइते श्रेष्ठका दाजु हरिकुमार श्रेष्ठले जानकारी दिए ।

उनले गत ०७२ साउन २६ गते जिल्ला सुरक्षा समितिको निर्णय, गृह मन्त्रालयको च.नं १५१, प सं ०७२/०७३/१५–१ को पत्राअनुसार सो रकम उपलब्ध गराउने भन्ने निर्देशन भएपनि हालसम्म सो रकम नपाएको गुनासो पनि गरे ।

सो आन्दोलनको क्रममा घाइते भएका पुरी, श्रेष्ठ र पन्तले उपचारको क्रममा २ लाख रुपियाँ भन्दा बढी आफूहरूले गरेको खर्च रकम नपाएको बताए ।

अन्य

भिडियो