जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंसिर १५ गतेदेखि सञ्चालन गरेको ब्राभो शेरा अप्रेसन अन्तर्गत१ सय १५ थान भरुवा बन्दुक र तीन ओटा बन्दुकका बरामद गरको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर राखी एकीकृत सुरक्षा योजना अनुसार जिल्लाका विभिन्न गाउँ तथा बस्तीमा खोजतलास अभियान सञ्चालन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले पुस १८ गते आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरीले बरामद गरेको बन्दुक तथा नाल सार्वजनिक गरिएको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी सूर्यबहादुर थापाका अनुसार इजाजत नभएका र चोरीमा प्रयोग हुन सक्ने हतियारहरु प्रहरीले बरामद हो । स्थानीयको सूचनाका आधारमा खाली घर, रुखका टोड्का, जमिनमा गाडेको अवस्थाबाट हतियार बरामद गरेको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले रघुगंगा गाउँपालिकाबाट एक ओटा नाल र ४८ ओटा भरुवा बन्दुक, मालिका गाउँपालिकाबाट २० थान बन्दुक, अन्नपूर्ण गाउँपालिकाबाट १६ थान बन्दुक, मंगला गाउँपालिकाबाट १४ थान बन्दुक, बेनी नगरपालिकाबाट ११ थान बन्दुक र धौलागिरी गाउँपालिकाबाट दुई ओटा बन्दुकको नाल बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको बन्दुक अधिकांश चालु अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।