सिद्धलेक गाउँपालिका–७ पोखरीकी ९२ वर्षीया एक वृद्ध महिलाको ०८२ पुस ३ गते हत्या गरेको आरोपमा प्रहरीले सिद्धलेक गाउँपालिका–७ पोखरी निवासी ३३ वर्षीय आईतराम घलेलाई ०८२ पुस ४ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार ०८२ पुस ३ गते राति करिब ९ बजेको समयमा सिद्धलेक गाउँपालिका–७ पोखरी निवासी ९२ वर्षीया पबिमाया घले घरको पिँढीमा टाउको फुटेको, शरीरमा चोटपटक लागेको र रगतले लतपतिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
घटनाको जानकारी प्राप्त भएपछि ०८२ पुस ४ गते बिहान जिल्ला प्रहरी कार्यालय धादिङ तथा इलाका प्रहरी कार्यालय गजुरीबाट विज्ञ चिकित्सकसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो।
मृतकका छोरा लिला बहादुर घलेले कर्तव्य ज्यान सम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा उजुरी दिएका थिए । उजुरीका आधारमा मुद्दा दर्ता गरी आईतराम घलेलाई पुस ४ गते जिल्ला अदालत धादिङ दिन १० दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मृतक र आरोपित नजिकका नातेदार नभए पनि उनीहरू दैनिकजसो भेटघाट गर्ने, आपसमा गफ गर्ने र हजुरआमा–नातीजस्तै व्यवहार गर्दै आएका थिए ।
प्रहरीका अनुसार आरोपित अविवाहित, एक्लै बस्ने, ज्याला मजदुरी गर्ने, दैनिकजसो मद्यपान गर्ने र छिट्टै आवेशमा आउने स्वभावका व्यक्ति रहेको खुलेको छ ।
रातिको समयमा आरोपितले मद्यपानको नशामा मृतकको घरमा गई आवेशमा काठको चौपाटाले टाउकोमा प्रहार गरी हत्या गरेको र त्यसपछि घटनास्थल छाडेको भनी आफ्नो कसूर स्वीकार गरेको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टम जिल्ला अस्पताल धादिङमा ०८२ पुस ४ गते गरिएको छ ।
पोष्टमार्टमपछि शव छोरा लिला बहादुर घलेले जिम्मा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दहालले जानकारी दिनुभयो ।