INSEC Online

📅 २०८३ जेष्ठ २१

पुल नबनाउँदा स्थानीयलाई ओहोरदोहोर गर्न समस्या (फोटो फिचर)

तिल्केनीका हर्कबहादुर परशुराम धाममा स्नान गर्न आए । परिवारसँगै बालबच्चा पनि ल्याएर उनि परशुराम धाममा आएका थिए ।

‘महाकालीमा पुल छैन । डुङ्गामा आउँदा एउटा बच्चा डुङ्गाबाट महाकालीमा खस्यो । प्रहरीले उद्धार गरेकाले मात्र उ बाँच्न सक्यो ।’–उनले भने–‘कञ्चनपुरबाट यहाँ आउन भारतबाट सहज हुन्छ । महेन्द्रनगरबाट बनबासा १५ रुपियाँ र बनबासाबाट टनकपुर १ सय रुपियाँ गरी यहाँ पुग्न १ सय १५ रुपियाँ मात्र लाग्छ । तर, नेपालको रूट भएर आउँदा पहिला अत्तरिया त्यसपछि बुडर हँुदै परशुराम पुग्न धेरै खर्चिलो हुन्छ ।’

महाकालीमा पुनर्निर्माण भए आफू जस्तालाई सुविधा हुने उनको भनाई छ । ‘पुनर्निर्माण भए सरकार आएको आफूले अनुभूति गर्ने थियौँ । हामीलाई सरकारले हेरेको नै छैन ।’–उनले भने–‘हामी जनतालाई कति मार्का छ । मन्त्रीज्यूहरूलाई थाहा नै छैन ।’

सशस्त्र द्वन्द्वको समयमा विस्थापित छोटी भन्सार कार्यालय हालसम्म पुनस्र्थापना हुन नसक्दा र पुल बन्न नसकेपछि भित्री मधेस क्षेत्रका स्थानीय बासीन्दाले सास्ती भोगिरहेका छन् । परशुराम नगरापालिका–५ परीगाँउ बाङघाट र सिसमझालामा छोटी भन्सार कार्यालय पुनस्र्थापना नहुँदा स्थानीय तथा व्यापारीहरूलाई समस्या परशुराम नगरपालिका–५ का मनोज शाहीले बताए ।

महाकाली नदी पारी नजिकै भारतको टनकपुर रहेता पनि छोटी भन्सार कार्यालय नहुँदा उनीहरूले सामान ल्याउन तथा औषधि उपचारका लागि कैलाली तथा कञ्चनपुर पुग्नु परेको छ । उनीहरूलाई भारतको टनकपुरबाट भन्दा नेपालबाट समान ढुवानी गर्न महङ्गो हुने गरेको छ ।

परशुरामबाट जिल्ला सदरमुकाम खलङ्गा, कैलाली र कञ्चनपुरभन्दा भारत नजिक पर्ने भएकाले छोटी भन्सार कार्यालय र पुल निर्माण भएको भए सहज हुने परशुराम नगरपालिका–४ का स्थानीय रामबहादुर विष्टले बताए ।

‘डडेल्धुरा सदरमूकाम, धनगढी र महेन्द्रनगर जान हामीहरूले धेरै नै टाढा हुन्छ । यहाँ पुल र भन्सार भइदिएको भए हामीलाई धेरै नै सहज हुने थियो ।’–उनले भने । उनले सरकारलाई महाकालीमा पुल निर्माण र छोटी भन्सार कार्यालय स्थापन गरिदिन आग्रह समेत गरेका छन् ।

‘यहाँ पुल बनाइदिन र छोटी भन्सार कार्यालय स्थापन गरिदिन म नेपाल सरकारलाई अनुरोध गर्दछु ।’–उनले भने–‘यहाँ पुल र छोटी भन्सार कार्यालय स्थापन भए यहाँका नागरिकलाई केही न केही राहत हुने थियो ।’

ज्यानको बाजी लगाएर यात्रा

महाकालीमा पुल नहुँदा स्थानीय डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न समेत बाध्य बनेका छन् । कञ्चनपुर भएर परशुराम धामदर्शन गर्न आउने पर्यटक तथा भक्तजनहरूलाई समेत यो रूट सहज हुने भएकाले डुङ्गा चडेर आउने गर्दछन् ।

तर, डुङ्गाको यात्रा जोखिम पूर्ण हुने भएकाले ज्यानै धरापमा राखेर परशुराम आउपर्ने बाध्यता रहेको कञ्चपुरबाट परशुराम तीर्थ स्नान गर्न आएका हर्कबहादुर बम बताउँछन् ।

परशुराम नगरपालिकाले बाङघाट र सिसमझाला गरी हाल दुई स्थानबाट नाका सञ्चालनमा छ । वर्षेनी ठेक्कामार्फत् डुङ्गा चलाई दुवै नाकामा तार उतार कार्य भइरहेको छ । तार उतार कार्य भइरहेको सिसमझाला नाकामा सिमा प्रहरी चौकी तातोपानी र वाङघाट नाकामा प्रहरी चौकी परिगाउँमार्फत प्रहरी परिचालन गरिएको छ ।

यता परशुराम नगरपालिकाले पटकपटक छोटी भन्सार कार्यालय पुनःस्थापनाका लागि पहल गर्दा पनि सुनवाई नभएको बताएको छ ।

चार धाम मध्ये महत्वपूर्ण मानिने परशुराम धाममा भारतको पूर्णागरीका पर्यटक समेत भित्र्याउने उद्धेश्य रहेकाले छोटी भन्सार कार्यालय र पुल निमार्णको लागि पहल चालिरहेको परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए ।

‘भारत जोड्ने महाकाली नदीमा अहिले डुङ्गाबाट हामीले तार उतार गर्ने गरेका छौँ । छोटी भन्सार कार्यालय स्थापन गर्न र पक्की पुन निर्माणका लागि सम्बन्धित निकायमा पहल गरेका छौँ ।’–नगर प्रमुख साउदले भने–‘यहाँ पुल निर्माण भए पूर्णगिरीमा आउने लाखौँ पर्यटकलाई परशुराम धाम ल्याउन सफल हुने थियौँ ।’

दई नाकामध्ये कुनै पनि नाकामा भन्सार कार्यालय नहुँदा अवैध तरिकाले भारतीय समान भित्रिने गरेको छ । सिमावर्ती भारतीय बजार टनकपुरबाट दिनहुँ लाखौं मूल्य बराबरका भारतीय समान बिना भन्सार भित्रिदा राजस्वमा छली हुने गरेको छ । छिट्टै भन्सार कार्यालयको स्थापना तथा पुल बनेपछि तस्करी नियन्त्रण हुने तथा नदी पार गर्ने सहज हुने विश्वास लिइएको छ ।

photo20190127dadeldhura (1)

photo20190127dadeldhura (2)

photo20190127dadeldhura (3)

photo20190127dadeldhura (4)

photo20190127dadeldhura (5)

अन्य

भिडियो