बेसीशहर नगरपालिका–२ भकुण्डेकी ४६ वर्षीया पुर्व प्रहरी हवल्दार सिता कडेलको हत्याको आरोपमा प्रहरीले चितवन घर भई रत्ननगर नगरपालिका–७ मा बस्दै आएका ४७ वर्षीय बुद्धीराम दराईलाई ०८२ मङ्सिर १८ गते गिरफ्तार गरेको छ ।
घटनापछि फरार रहेका दराईलाई केन्द्रिय अनुसन्धान ब्यूरो काठमाडौँको सहयोगमा रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट प्रहरीले गिरफ्तार गरेको हो ।
पूर्व प्रहरी हवल्दार सिता कँडेलको घर तीन चार दिनदेखि घर बन्द रहेपछि ०८१ चैत ३१ गते स्थानीयले प्रहरी कार्यालयमा खबर गरेका थिए । प्रहरीले घर खानतलासी गर्दा कडेलको शव फेला परेको थियो ।
आरोपितलाई यसभन्दा पहिले पनि ०६७ मंसिर १२ गते कर्तव्य ज्यान मुद्दामा गोरखा जिल्ला अदालतले ०६८ असार २० गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सोही फैसलालाई सर्वोच्च अदालतले ०७१ चैत १३ गते १२ बर्षको कैद सजाय सुनाएपछि आरोपितले कैद भुक्तान गरी ०७६ असोज ३ गते धादिङ कारागारबाट रिहा भएका थिए ।
शवको पोष्टमार्टम ०८२ वैशाख १ गत प्रदेश अस्पताल लमजुङमा गरी सोही दिन मस्र्याङ्दी नदीमा सद्गत गरिएको छ । आरोपित विरूद्ध प्रहरीले जिल्ला अदालतमा कर्तव्य ज्यानमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।