INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षाकर्मीहरूले घातक हतियारको गैरकानुनी प्रयोगः एमनेष्टी प्रतिवेदन

जेनजी प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षाकर्मीहरूले घातक हतियारको गैरकानुनी प्रयोग गरेको एमनेष्टी इन्टरनेशनल (एआई) नेपालले प्रतिवेदनमार्पmत जनाएको छ ।
प्रदर्शनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डको दुरुपयोग भएको निष्कर्ष निकालेको ०८२ मङ्सिर २२ गते सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जुरी नेपाल, एम्नेस्टि इन्टरनेशनल नेपाल, एड्भोकेसी फोरमलगायतका अधिकारकर्मी संस्थाहरुले तयार गरेको अध्ययन प्रतिवेदनका विवरणहरू सार्वजनिक गर्दै एआई नेपालका निर्देशक निराजन थपलियाले भन्नुभयो, ‘प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षाकर्मीहरूले कम घातक हतियारको दुरुपयोग गर्नुका साथै घातक हतियारको गैरकानुनी प्रयोग गरेको देखियो ।’

उसले बानेश्वरस्थित संसद् भवन आसपासको क्षेत्रमा भएको गोली प्रहारलाई सांकेतिक रुपमा ‘गैरन्यायिक र स्वेच्छाचारी हत्या’ भनेको छ । प्रदर्शनलाई तितरबितर पार्न कयौं उपाय अपनाउनुपर्नेमा त्यसो नगरी प्रहरीले बल प्रयोग गरेको निष्कर्ष निकालेको हो ।

एक पूर्वसुरक्षा अधिकारीको विश्लेषण उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘जब भिड आक्रामक भयो, सशस्त्र वा नेपाल प्रहरी आत्तिएर भित्र जे–जे उपलब्ध थियो, त्यसैलाई प्रयोग गरेको हुनसक्छ ।’

आधा दर्जनभन्दा बढी रबरको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीले आफूहरू त्यहाँ शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न गएको र गोली चल्ने कुनै अनुमान समेत नभएको बताएका थिए ।

‘हामी त्यहाँ हाम्रो आवाज उठाउन गएका थियौं, मारिन होइन । या त राज्य सुरक्षामा कमजोर छ, या त सबैलाई स्तब्ध पार्ने ढंगले क्रूर छ,’ उनले अध्ययन टोलीसँग भनेका थिए, ‘राज्यले दुवै अवस्थामा आफ्ना जनताको सुरक्षा गर्न असफल भएको जिम्मेवारी लिनुपर्छ ।’

एमनेष्टीले तिनै घाइतेको भनाईलाई उदृत गरेर ‘हामी त्यहाँ हाम्रो आवाज उठाउन गएका थियौं, मारिन होइन’ भनी प्रतिवेदनको शिर्षक बनाएको छ ।

कानुन कार्यान्वयन गर्ने अधिकारीहरूद्वारा बल तथा बन्दुकको प्रयोग सम्बन्धी संयुक्त राष्ट्रसंघीय सिद्धान्तहरू अनुसार, भेला हिंसात्मक हुँदा पनि बन्दुकको प्रयोग गर्नु हुँदैन । झनै त्यसमाथि कुनै भिडले अर्कोको ज्यान लिने जोखिम नभएको अवस्थामा त्यसरी बल प्रयोग गर्न मिल्दैनथ्यो ।

तर जेनजी आन्दोलनमा प्रहरीले ठूलो संख्यामा धातुको गोली प्रयोग गरेको थियो, तरपनि प्रहरीले धातुको गोली प्रयोग नगरी ‘ब्ल्याङ्क फायर’ मात्रै भएको दाबी गरेको छ । महत्त्वपूर्ण संरचनामा क्षति पुग्ने अवस्थामा समेत घातक बल प्रयोग गर्न नहुने भन्दै एमनेष्टीले प्रतिवेदनमा भनेको छ, ‘प्रदर्शनकारीहरूबाट मानिसको ज्यानै जाने वा गम्भीर चोट लाग्ने जोखिम नहुँदा पनि प्रहरीले घातक बल प्रयोग गरेको प्रमाण फेला परेको छ, जसबाट (प्रदर्शनकारीको) जीवनको अधिकारलाई स्वेच्छाचारी रुपमा छिनिएको छ ।’

एमनेष्टीले भदौ २३ मा सुरक्षाकर्मीहरूले प्रहार गरेको गोलीलाई लापरवाहीपूर्वक र घातक बल भनेको छ । एक प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै उसले प्रतिवेदनमा उल्लेख गरेअनुसार, ‘अवस्था अस्तव्यस्त देखिन्थ्यो र एकैचोटी धेरै स्थानबाट गोलाबारी भइरहेको थियो ।’ उसले केही त्यस्ता फोटोहरू पनि प्रतिवेदनमा समावेश गरेको छ ।

एमनेष्टी इन्टरनेशनलले घाइते र मृतकमध्ये अधिकांशलाई टाउको, घाँटी, छाती अघि पेटको माथिल्लो भागमा गोलीको चोट लागेको निष्कर्ष निकालेको छ । मारिएका सबैलाई कम्मरभन्दा माथि गोली प्रहार गरिएको थियो ।

‘धेरै बिरामीहरू भारी रक्तश्रावमा थिए र त्यसलाई रोक्नु सबैभन्दा कठिन काम थियो’ एक चिकित्सकलाई उद्दृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘अपरान्ह करिब २ बजे आकस्मिक कक्षको अवस्था भयावह थियो, जताततै रगतैरगत, विरामीहरू ढलिरहेका, डाक्टर र नर्सहरू लगातार दौडधुप गरिरहेका थिए ।’

२०६२/६३ सालको जनआन्दोलनका क्रममा ठूलाठूला प्रदर्शन देखेका एक चिकित्सकका अनुसार, यसपाली एकाएक धातुको गोली प्रयोग भएको थियो, जसलाई उनले आकस्मिक रुपमा बल प्रयोग बढेको संकेत मानेका छन् ।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने उपायको रुपमा पानीको फोहोरा र अश्रुग्यास प्रयोग गर्नुपर्नेमा एकाएक ‘काइनेटिक इम्प्याक प्रोजेक्टाइल (केआईपी) अर्थात धातुको गोली प्रयोग गर्नुमाथि उनले प्रश्न उठाएका थिए ।

नेपालले सन् २०२१ मा मानवअधिकारसम्बन्धी प्रतिबद्धताको आवधिक समीक्षामा शान्तिपूर्ण सभामा हस्तक्षेप रोक्ने र प्रदर्शनकारीहरूमाथि अधिक बल प्रयोग नगर्ने प्रतिबद्धता जनाएको थियो । एमनेष्टीले त्यसको पालना गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

दीपकप्रसाद घिमिरे

अन्य

भिडियो