INSEC Online

📅 २०८३ जेष्ठ २१

खानामा विष खुवाई हत्या गरेको आरोपमा बुहारी गिरफ्तार

बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षीया ज्येष्ठ नागरिकको खानामा विष मिसाएर खुवाई हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीया भतिजी बुहारी सुनिता कार्कीलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ ।

खानामा विष मिसाइ खुवाएर ७७ वर्षीया सासू इन्द्रमाया राईको हत्या गरेको आरोपमा ३२ वर्षीया भतिजी बुहारी सुनिता कार्कीलाई अनुसन्धानका लागि घटना भएकै दिन ०८२ मङ्सिर २० गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कवित कटुवालले बताउनु भयो ।

खानामा विष दिएका कारण ७० वर्षीया ससुरा भक्तबहादुर राई गम्भीर घाइते हुनु भएको छ । उहाँको विराटनगर महानगरपालिका–४ मा रहेको नोवेल अस्पतालमा उपचार भइरहेको छ ।

घर नजिकैको खोल्सामा अचेत अवस्थामा भक्तबहादुर राईलाई स्थानीयले मङ्सिर २० गते फेला पारेका थिए । राईलाई घर लैजाँदा घरभित्र भक्तबहादुरकी पत्नी इन्द्रमायाको शव फेला परेको थियो । मङ्सिर २० गते विहानको खानामा खाएका सासूससुरामध्ये सासूको तत्कालै मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिनन्दन चौधरीले बताउनु भयो ।

वृद्ध दम्पत्तिले खाना खाएर बचेको खाना कुखुरालाई दिएको र सो खाना खाएका तीन ओटा कुखुरा समेत मरेको पाइएको छ ।

भतिजो घरमा नभएको मौकामा बुहारीले विष खुवाएर सासूससुराको हत्या गरेको र विषको बट्टा आगोमा आधा जलाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शवको पोष्टको पोष्टमार्टम कोशी अस्पतालमा मङ्सिर २१ गते गरिएको छ ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा मङ्सिर २१ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।

 

विनोद सुवेदी

अन्य

भिडियो