सिरहा नगरपालिका–१ स्थित प्रादेशिक आयुर्वेदिक अस्पतालमा रहेको ल्याब सेवा बन्द भएको छ ।
अस्पतालका निमित कार्यालय प्रमुख दिपेन्द्र प्रसाद यादवले ल्याबमा चाहिने केमिकल र केमिकलको सामग्रीहरु प्रदेशबाट नआएकोले सेवा सञ्चालन गर्न नसकिएको बताउनु भयो । २०७८ सालमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट ल्याब सञ्चालनको लागि बजेट आएर ल्याब प्रयोगशाला निर्माण भएको थियो । अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जना बिरामीहरु आउनेका छन् । उनीहरूको सिबिसि, सुगर लगायतका ल्याब जाँच गरेर रोग पत्ता लगाई औषधी दिनु पर्नेमासेवा सुचारु नहुदाँ लक्षणको भरमा मात्र औषधी दिने गरेको उहाले बताउनु भयो । बाहिरबाट जाँच गराएर आउन भन्दा महँगो पनि हुने र गएका बिरामी फर्केर नआउने यादवले बताउनु भयो । अस्पतालमा पाँच जनाको दरबन्दी भए पनि बिएमएस डाक्टर बढुवा भई सरुवा भएको हुँदा उक्त पद खाली भए पनि करारमा गरी ११ जना कार्यरत रहेको बताउनु भयो । प्रदेश कार्यालयले निमित कार्यालय प्रमुखको जिम्मा दिएकोले ल्याब सञ्चालनका लागि केमिकल लगायतको सामग्रीहरु मगाएकोले यही पुस महिना भित्र ल्याब सेवा सुचारु गर्ने योजना रहेको यादवले बताउनु भयो ।
एक जना मात्र ल्याब असिष्टेन्ट भएकोले कहिले बिदामा बस्नु पर्ने हुँदा सेवा बन्द हुने हुँदा प्रदेशसँग थप एकजना जनशक्ति माग गरेको बताउनु भयो । पहिला ३० प्रकारको औषधी निःशुल्क दिने गरेकोमा सरकारले कटौती गरी २३ प्रकारको औषधी मात्र दिने गरेको बताउनु भयो ।