INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्‍व्यवहार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

आठ वर्षीया बालिकालाई यौन दुर्‍व्यवहार गरेको कुसुरमा राजगढ गाउँपालिका–२ बननिया कमलपुरका १९ वर्षीय महबुद मियाँलाई जिल्ला अदालत सप्तरीले पुस २९ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश उमेश कोइरालाको इजलासले आरोपित मियाँलाई पाँच वर्ष कैद सजायको फैसला गरेको र सोही आरोपमा मुछिएका १३ वर्षीय दुई बालकलाई सफाई दिने फैसला गरेको स्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए ।

पीडितकी आमाले बलात्कारको उजुरी दर्ता गराए पनि जिल्ला अदालतले बलात्कार नभई ‘बलात्कार प्रयास’ भएको पुष्टि गर्दै पाँच वर्ष कैद सजायको फैसला गरेको हो । फैसलापछि आरोपित फरार भएका छन् ।

घरबाट बाख्रा चराउन निक्लिएकी बालिकालाई राजगढ गाउँपालिका–२ कमलपुरस्थित नहरको कल्भर्टमुनी ०७३ भदौ १५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले सोही दिन इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७३ भदौ १५ गते नै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गरिएको थियो ।

प्रहरीद्वारा ०७३ भदौ १५ गते गिरफ्तार आरोपितहरू तीनै जना नाबालक देखिएको भन्दै तत्कालिन जिल्ला न्यायाधीश शङ्करबहादुर राईको इजलासले ०७३ भदौ १६ गते छाड्न आदेश दिएको थियो ।

तर, आरोपित महबुदको उमेर १९ वर्षको प्रमाणित भएपछि इलाका प्रहरी कार्यालय कल्याणपुरले पुनः ०७३ भदौ २१ गते गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।

तत्कालिन जिल्ला न्यायाधीश राईकै आदेशमा आरोपित महबुद १५ हजार रूपियाँ धरौटी राखी ०७३ असोज १२ गते तारेखमा रिहा भएका थिए ।

अन्य

भिडियो