INSEC Online

📅 २०८३ जेष्ठ २१

बारामा जेनजी समूह र प्रहरीबिच झडप: चार जना घाइते

जेनजी समूहले ०८२ मङ्सिर ४ गते बिहान दोषिहरुको पहिचान गरी कारबाहीको माग गर्दै सिमरामा प्रदर्शन गरेका छन् । प्रदर्शन पुनः तनावपूर्ण बनेपछि प्रहरीले लाठिचार्ज गर्नुका साथै चार राउण्ड अश्रु ग्याँस र दुई राउण्ड हवाइफायर समेत गरेको छ ।

आन्दोलनकारी प्रहरीबीच झड्प हुँदा २३ वर्षीय निलहरि सापकोटा, २१ वर्षीय सुमित चौधरी, २३ वर्षीय निशान्त श्रेष्ठ र २३ वर्षीय सन्देश घिमिरे घाइते भएका छन् । घाइतेहरुको सिमरास्थित नगर अस्पतालमा उपचार भएको छ । घाइते मध्ये निलहरि र निशान्तलाई थप उपचारको लागि वीरगंजस्थित न्यूरो अस्पतालमा रेफर गरिएको स्वास्थ्यकर्मी सम्झना विश्वकर्माले जानकारी दिनु भयो । झड्पको क्रममा प्रहरीहरु पनि घाइते भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कफ्र्यू आदेश जारी गरेको थियो । विरगंज–पथलैया सडक खण्ड राजमार्गको दाँया बाँया ५ सय मिटर र सिमरा विमानस्थलको वरपरको ५ सय मिटरको क्षेत्रमा कफ्र्यु लगाइएको थियो ।

सिमरामा मङ्सिर ३ गते भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष जितपुर सिमरा उप महानगरपालिका–२ का धनबहादुर श्रेष्ठ र वडा नम्बर ३ का वडाध्यक्ष कैमुदिन अ‍ैसारीलाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ ।

०८२ मङ्सिर ३ गते बिहान युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत परवानीपुर–६ मा युवा संघले आयोजन गरेको मधेश प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्न एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत आउने भएपछि सिमरा चोक र विमानस्थल अगाडि जेनजीले विरोध प्रदर्शन गरेका थिए । सोही क्रममा जेनजी र युवा संघका कार्यकर्ताबीच झडप भएको थियो ।

झडपमा जेनजी समूहका सम्राट उपाध्याय, सुजल पाठक, शेष सफिद, रमेश भण्डारी र सौरभ रिमाल घाइते थिए । घाइतेहरुको जितपुरस्थित सिमरा नगर अस्पतालमा उपचार गरिएको छ ।

मधेस प्रदेश कार्यालय

अन्य

भिडियो