आन्दोलनका क्रममा ०८२ भदौ २३ र २४ गते इलाका प्रहरी कार्यालय, दमकमा आगजनी गरी प्रहरीको हतियार लुटेर फरार भएका पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ का २२ वर्षीय सुशील फियाक लिम्बूलाई प्रहरीले मङसिर २ गते गिरफ्तार गरेको छ ।
दमक नगरपालिका–६ बाट लिम्बूलाई गिरफ्तार गरेपछि लिम्बूले दिएको सूचनाका आधारमा प्रहरीले पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा लुकाएर राखेको म्याग्जिनसहितको ३०३ मार्क ३ राईफल एक थान , म्याग्जिन नभएको बट र ह्याण्ड ग्रिप जलेको अवस्थामा एक थान इन्सास,इन्सासको जंगी राउण्ड एक थान र एसएलआरको जंगी राउण्ड तीन थान गोली बरामद गरेको छ ।
लिम्बूलाई सोधपुछ गर्दा लुटेका हतियारहरु मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे लामागाउँस्थित ओडारमा लुकाई राखेको बताएपछि प्रहरीले खोजी गरेको थियो ।
इलाका प्रहरी कार्यालय, दमकमा भदौ २३ र २४ गते आगजनी र तोफोड गरेको आरोपमा प्रहरीले मङसिर २ गते दमक नगरपालिका–९ का ३६ वर्षीय अरुण रोका र दमक नगरपालिका–९ का २० वर्षीय गौरव भुजेललाई मङसिर २ गते गिरफ्तार गरेको छ ।
विर्तामोड नगरपालिका–९ मा रहेको इलाका प्रहरी कार्यालय, अनारमनीमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले ०८२ मङसिर २ गते विर्तामोड नगरपालिका–८ गरामनीका ३६ वर्षीय गंगाराम लिम्बू, विर्तामोड नगरपालिका–७ मुसहरडाँडाका १९ वर्षीय शेसेहाङ इङ्गनाम, बाहृदशी गाउँपालिका–५ का ३९ वर्षीय भुवन ओली, विर्तामोड नगरपालिका–६ का २४ वर्षीय अनिल ओली, विर्तामोड नगरपालिका–२ का २९ वर्षीय भोला मियाँ भनिने छतिस यादव र सुनसरीको हरिनगर गाँउपालिका–१ का २२ वर्षीय साहिद हुसैन अञ्सारीलाई गिरफ्तार गरेको छ । प्रहरीले आरोपितविरुद्ध अभद्र व्यवहार, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव तथा हातहतियार खरखजानासम्बन्धी कसुरमा मुद्दा अघि बढाएको छ ।