आन्दोलनका क्रममा ०८२ भदौ २४ गते काभ्रे जिल्ला स्थित विभिन्न सरकारी तथा प्रहरी कार्यालयको भवन र सम्पतिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई मङ्सिर १ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन विष्टका अनुसार आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा गिरफ्तार गरिएकाहरुमा धुलिखेल नगरपालिका–३ का २१ वर्षीय अजय तामाङ, खानीखोला गाउँपालिका–१ का २१ वर्षीय विशाल भोलन, बनेपा नगरपालिका–३ का २२ वर्षीय रविन्द्र परियार, बनेपा नगरपालिका–८ का २१ वर्षीय अभि सुद्दाकार र दोलखा जिल्ला जिरी नगरपालिका–९ का २९ वर्षीय भिम तामाङ रहेका छन् ।
गिरफ्तार गरिएका मध्ये दुई जना विरुद्ध यसअघि पनि मुद्दा दर्ता भएको थियो । विशाल भोलन विरुद्ध इलाका प्रहरी कार्यालय बनेपामा ०८१ मा लागु औषध मुद्दा दर्ता भएको छ भन अभि सुद्दकार विरुद्ध ०७९ मा सवारी ज्यान मुद्दा दर्ता भएको छ । काभ्रे प्रहरीले आगजनी र तोडफोडमा संलग्न अन्यको खोजी कार्य तीव्र पारेको प्रहरीले जनाएको छ ।