INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको २९ औँ साधारण सभा सम्पन्न: विजयराज गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २९ औँ साधारणसभा ०८२ कात्तिक २८ गते काठमाडौँमा सम्पन्न भएको छ ।

साधारण सभामा स्वागत मन्तव्य राख्दै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले इन्सेक अभियानको निरन्तरताका लागि आगामी तीन वर्षका लागि कार्यसमितिको चयन सँगै समसामयिक मानव अधिकारका विषयमा उजागर गर्न यस साधारण सभा महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले आफ्नो नेतृत्वको कार्यसमितिले नेपाल मानव अधिकार वर्ष पुस्तकमा प्रदेशगत मानव अधिकारको विश्लेषण, जलवायु न्यायलाई मानव अधिकारको अभिन्न अंगका रुपमा जोड्न र प्राची प्रकाशनलाई हरेक अंक, विशेष अंकका रुपमा सुरु गरेको बताउनु भयो ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले फोरम एसियामा संस्थापक सदस्यताको अवधारणालाई अगाडी ल्याएको समय र अनौपचारिक क्षेत्र अध्ययन केन्द्रबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को वैधानिकतामा लैजान गरेका प्रयासहरु स्मरण गर्दै नेपाल मानव अधिकार वर्ष पुस्तकको निरन्तरता इन्सेकको विशेषता रहेको बताउनु भयो ।

इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेलले संकटका बिचमा समाधान खोज्न आवश्यक रहेको बताउँदै नागरिक समाजको व्यापक नेतृत्वमा राज्य सञ्चालनमा बसेका जिम्मेवारहरुलाई जवाफदेही बनाउन र कानुन, नियम र कार्यविधिको व्याख्यालाई जनताको पक्षमा बनाउन आवश्यक रहेको बताउनु भयो ।

नवयुवा पुस्ताले आन्दोलन मार्फत उठाएको सुशासनका पक्षमा सरोकारवालाहरुले आधारभूत तहबाट नै सोच्न आवश्यक रहेको बताउनु भयो । उहाँले आधारभूत तहका जनताहरुसँगको पहुँचले इन्सेकलाई थप सामर्थ्यवान बनाउने बताउनु भयो ।

इन्सेकका निवर्तमान अध्यक्ष इन्दिरा श्रेष्ठले इन्सेकले आफ्ना अभियानलाई थप प्रभावकारी र पीडितको पक्षमा आधारित बनाउदै न्यायमा पहुँच स्थापित गराउनका लािग राज्यको जबफदेहिता खोज्नु आवश्यक रहेको बताउनु भयो ।

साधारण सभामा इन्सेकका महासचिव रघुनाथ अधिकारीले आ.व ०८१/८२ मा सम्पन्न कार्यक्रम र परियोजना, गतिविधिहरु, हासिल गरेका उपलब्धिहरु साथै आ.व ०८२/८३ मा सञ्चालन हुने कार्यक्रम र परियोजनाबारे जानकारी गराउँदै पेश गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो।

त्यसैगरी साधारण सभाले कोषाध्यक्ष गीता बरालले पेश गर्नु भएको आर्थिक प्रतिवेदन पनि सर्वसम्मतिले पास गरेको छ ।

इन्सेकको २९ औँ साधारण सभाबाट विजयराज गौतमको अध्यक्षतामा गीता बराल, लता प्याकुरेल, केशव सिग्देल, विकास आचार्य, डा. विद्या चापागाई र दुर्गा कार्की सहितको कार्यसमिति गठन गरेको छ । साधारण सभाले पाँच बुँदे समसामयिक प्रस्ताव समेत पारित गरेको छ ।

बागमती प्रदेश कार्यालय

अन्य

भिडियो