INSEC Online

📅 २०८३ जेष्ठ २१

दादुरा विरूद्धको खोप लगाउँदा बच्चाको मृत्यु, स्वास्थ्यकर्मीको लापरवाहीका कारण मृत्यु भएको पीडित पक्षको आरोप

जानकी गाउँपालिका–४ मा सञ्चालन भएको दादुराविरूद्धको खोप शिविरमा पुस २५ गते खोप लगाउन ल्याइएका १५ महिने बालक चरण चौधरीलाई दादुराविरूद्धको खोप लगाएको झण्डै १५ मिनेटपछि मृत्यु भएको छ ।

बच्चाका बुवा वासुदेव चौधरीले छोरालाई कुनै किसिमको स्वास्थ्य समस्या नरहेको बताउँदै खोप लगाएको १५ मिनटेमा नै छोरा बेहोस भएपछि टिकापुर अस्पतालसम्म पुर्‍याउँदा बच्चाको मृत्यु भइसकेको बताए ।

उनले एक स्वस्थ बच्चा खोप लगाएको केही बेरमा नै मृत्यु हुनुमा स्वास्थ्यकर्मीको लापरवाही भएको आरोप लगाएका छन् ।

पीडित परिवार र स्थानीयवासीहरूले घटनामा संलग्न स्वास्थ्यकर्मीलाई कारबाही नभएसम्म र यसको जिम्मा राज्यले नलिएसम्म बच्चाको अन्तिम दाहसंस्कार नगर्ने जनाएका छन् । शव पोष्टमार्टमको लागि टिकापुर अस्पतालमा राखिएको छ ।

टिकापुर अस्पतालका प्रमुख डाक्टर नरेन्द्र खनालले खोप लगाएकै कारण मृत्यु भएको भन्ने एकिन भइनसकेको बताए । उनले खोप लगाउँदा बच्चाको मृत्यु भएको बारेमा टिकापुर अस्पतालमा परीक्षण गर्न नसकिने भएकाले आशङ्का भए प्रविधियुक्त अस्पतालमा लैजानु पर्ने बताए ।

अन्य

भिडियो