जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते दाङ जिल्ला अदालत र होटेल मालाइनमा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले घोराही उमनपा–१२ का ५० वर्षीय विजय न्यौपानेलाई गिरफ्तार गरेको छ ।
प्रदर्शनकारीसँगै अदालत पुगेर दाङ जिल्ला अदालतमा आगजनी, तोडफोड गरेको र होटेल मालाइन आगजनी, तोडफोड गरी खाद्य सामग्रीसमेत लुटेर लगेको आरोपमा कात्तिक २४ गते न्यौपानेलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । न्यौपानेलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको शाहले जानकारी दिनुभयो । यसअघि कात्तिक २३ गते पनि जिल्लाका सरकारी कार्यालय आगजनी, तोडफोड गरेको आरोपमा ९ जनालाई गिरफ्तार गरी अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।