धरान उपमहानगरपालिका–११ मंगलबारेस्थित नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत तेह्रथुमको मेन्छयायेम गाउँपालिका–६ का ३३ वर्षीय खड्गबहादुर राईको मृत्यु भएपछि सञ्चालकसहित नौ जनालाई प्रहरीले गिरफ्तार गरेको छ।
सुधारगृहमा कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०८२ कात्तिक १९ गते मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार घटनास्थलमा रहेको सीसी क्यामेरा फुटेजमा राईलाई पाता कसेर कम्ब्याट र डसनाले बाँधिएको र हातखुट्टा समेत चल्न नसक्ने गरी लडाइएको दृश्य देखिएपछि सो घटनामा संलग्न नाै जनालाई गिरफ्तार गरिएको हो ।
पुनर्स्थापना केन्द्रका सञ्चालक धरान उपमहानगरपालिका–८ का ३५ वर्षीय मणिराज राई, धरानकै २५ वर्षीय राकेश प्रधान, २० वर्षीय श्रवण राजधानी, ४० वर्षीय निकेश सुनुवार, ४१ वर्षीय सुरेन लिम्बु, ३८ वर्षीय हस्तबहादुर विश्वकर्मा, ३७ वर्षीय बिरु लिम्बु, ३५ वर्षीय सचिन राई र मोरङ सुन्दरहरैंचाका २७ वर्षीय विजय चौधरी छन् । उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।