वीरेन्द्रनगर–११ का ३५ वर्षीय गंगे सुनारको कात्तिक २१ गते सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएपछि राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश र एड्भोकेसी फोरम कर्णाली प्रदेशले संयुक्त रुपमा हिरासत स्थलको अनुगमन गरेका छन्। अनुगमन टोलीले मृतकसँगै रहेका अन्य थुनुवा, मृतकका आफन्त, प्रहरी र सम्बन्धित अधिकारीहरूसँग छलफल गरेको इन्सेक कर्णालीका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयाे।
अनुगमन टोलीले प्रारम्भिक रूपमा घटनाकाे कारण, हिरासतको अवस्था, स्वास्थ्य व्यवस्थापन र निगरानी प्रणालीका बारेमा विवरण संकलन गरेको छ।
उनको मृत्यु भएपछि आफन्तले घटना शंकास्पद भएको भन्दै विरोध जनाएका थिए । आफन्तको विरोधपछि जिल्ला प्रशासन कार्यालय सुर्खेत र पीडित परिवारसँग भएको छलफलपछि घटनाको सत्य तथ्य जाँचबुझ गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको छानबिन समितिको सदस्यमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयाेजक सुर्खेतका पीताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका कर्णाली प्रदेश सचिव मालती विक र मृतक परिवारका तर्फबाट गीता सुनार रहेका छन् ।
मृतककी पत्नी यादु सुनारले घटनाको निष्पक्ष छानबिनको माग गर्नुभएकाे छ । `हाम्रो परिवार न्यायको खोजीमा छ । मेरो पति स्वस्थ थिए, उनी बिरामी भएर मरे भन्ने कुरा हामीलाई विश्वास लागेको छैन। सत्य कुरा सार्वजनिक हुनुपर्छ,´उहाँले भन्नुभयाे ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयले हिरासतमा मृत्यु हुनु नै मानव अधिकारको दृष्टिले गम्भीर विषय भएको भन्दै छानबिन निष्पक्ष हुनुपर्ने बताएको छ। आयोगका कर्णाली प्रदेश प्रमुख रमेशकुमार थापाले भन्नुभयाे, `थुनुवा राज्यको जिम्मामा हुन्छन्, त्यसैले हिरासतभित्र हुने मृत्यु सामान्य घटना होइन। त्यसको कारण स्पष्ट हुनैपर्छ।´
प्रहरीले भने मृत्यु स्वाभाविक कारणले भएको दाबी गरेको छ। `हामीले कुनै प्रकारको दुर्व्यवहार गरेको छैनौं,´ डिएसपी माेहनजंग बुढथापाले भने, `उनले प्रेसर र सुगरकाे औषधी खाइरहेका थिए ।´ उहाँका अनुसार घटनाको सम्पूर्ण विवरण जिल्ला प्रहरी कार्यालयले छानबिन समितिलाई बुझाइने छ । पाँचग्राम लागूऔषधसहित भदौ ३ गते पक्राउ परेका उनी २१ गते बिहान ६ बजे मृत अवस्थामा फेला परेका हुन्।