हेटौंडाको चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशिल शाहलाई ०८२ कात्तिक १९ गते बिरामीको उपचार प्रक्रिया र भर्नाका विषयमा विवाद हुँदा हेटौंडा उमनपा–११ का अजित विडारीले कुटपिट गरे ।
लडेर कुहिनोमा सामान्य चोट लागेकी सुरक्षा कँडेललाई उपचारका लागि राजु विडारीले अस्पताल ल्याएका थिए । अस्पतालको इमर्जेन्सीमा ड्युटीमा रहेका डा. सचिन दासले अर्थोपेडिक सर्जनले हेर्नुपर्ने भन्दै डा. शाहलाई बोलाएपछि स्वास्थ्य बीमामार्फत उपचार गराउने विषयमा बिरामी पक्ष र चिकित्सकबिच विवाद भएको अस्पतालका सिइओ डा. आकेश प्रजापतिले जानकारी दिनुभयो ।
अस्पताल प्रशासनका अनुसार बिरामीको घाउ सफा गरेर टाँका लगाउनुअघि एक दिन अब्जरभेसनका लागि अस्पताल भर्ना हुनुपर्ने सल्लाह डा. शाहले दिएकोमा बिरामीका आफन्तले भर्ना हुन अस्वीकार गर्दै बिरामीलाई अन्यत्र रिफर गर्न दबाब दिएको र सोही क्रममा विवाद हुँदा डा. शाहमाथि कृटपिट भएको हो ।
कात्तिक २० गते बिहान अस्पताल प्रशासन र डा. शाहसँग भएको छलफलले प्रहरीमा लिखित उजुरी दिने निर्णय भएको अस्पतालका सिइओ डा. आकेश प्रजापतिले जानकारी दिनुभयो ।