रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा स्वास्थ्य बिमाबाट पाइने निःशुल्क औषधी तीन महिनादेखि अभाव हुँदा सेवाग्राही मार्कामा परेका छन् । नेपाल सरकारले स्वास्थ्य बिमा गराई उपचार गराउने विरामीहरुलाई १ लाख रुपियाँ सम्मको उपचार र औषधी निःशुल्क दिने व्यवस्था गरेपनि अस्पतालमा औषधी अभाव भएको हो ।
लहान नगरपालिका–२२ की पार्वती चौधरीका अनुसार बिमाबाट चेक जाँच गराएर डाक्टरले लेखिदिएको औषधी अस्पतालको मेडिकलमा लिन जाँदा नपाएको बताउनु भयो ।
लहान नगरपालिका–२३ का योगेन्द्र यादवले नियमित खानु पर्ने औषधी उपलब्ध नहुँदा किनेर खानु परेको दुःखेसो पोख्नु भयो । उहाँले भन्नु भयो–“औषधी किनेरै खानु पर्ने भए बिमा गराको के फाइदा ।”
रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहानका मेडिकल सुपरिटेन्डन रंजित झाले सरकारी अस्पतालमा बिमाको सुविधा भएपनि बिमा दावीको भुक्तानी नहुँदा औषधी खरिद गर्न नसकिएको बताउनु भयो । करिब १ करोड बिमा रकम भुक्तानी गर्न बाँकी रहेकोले अस्पतालले औषधी खरिद गरी बितरण गर्न नसकेको उहाँले बताउनु भयो ।
१५ बेडको अस्पतालमा १ सय बेडको सुविधा भएपनि केन्द्र र प्रदेशबाट यथेष्ट सहयोग नहुँदा अस्पताल सञ्चालनमा कठिनाइ भएको मेडिकल सुपरिटेन्डेन्ट झाको भनाइ छ । अस्पताल विकास समितिबाट सकी नसकी अस्पताल सञ्चालन भएको झाले बताउनु भयो ।
बिमाको रकम प्राप्त हुनासाथ औषधी खरिद गरी वितरण गर्ने उहाँले बताउनु भयो । दैनिक ३ देखि ४ सय बिरामीलाई सेवा दिँदै आएको अस्पतालले बिमाबाट औषधी बाहेक अन्य सुबिधा दिँदै आएको सुपरिटेन्डन झाले जानकारी दिनु भयो ।
दुर्गा परियार