जिल्लाका अधिकांश स्थानीय तहहरूमा एम्बलेन्स नहुँदा गम्भीर बिरामीहरूले समस्या भोग्नुपरेको छ । जिल्लाका सात स्थानीय तह एम्बुलेन्सविहीन रहेका छन् ।
मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा एम्बुलेन्स छैन । जसका कारण यहाँका गम्भीर बिरामीले समस्या भोग्नुपरेको छ ।
जिल्ला भित्रनै धेरै दुरी रहेकाले स्थानीय तहहरूमा एम्बुलेन्स सेवा दिन यहाँका स्थानीयले माग गरेका छन् । जिल्लाका सबै स्थानीय तहमा अझै पनि सडक सञ्जाल पुग्न सकेको छैन । सडक सुविधा नहुँदा पनि यहाँका केही स्थानीय तहले एम्बुलेन्स खरिद नगरेको जनाएका छन् ।
मेलौली नगरपालिकाले एम्बुलेन्स खरिद गरिसकेको र केही दिनमै नगरपालिकामा पुग्ने नगरप्रमुख कृष्णसिंह नायकले बताए ।
सुर्नया गाउँपालिकाले एम्बुलेन्स खरिद गर्नको लागि टेण्डर भइसकेको र निकट भविष्यमै एम्बुलेन्स आउने गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए ।
दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षमा एम्बुलेन्स किन्ने निर्णय गरेको भएपनि आफैँले नकिन्ने र प्रदेश सरकारसँग अनुरोध गरेको गाँउपालिका अध्यक्ष चक्र कार्कीले बताए ।
यस्तै शिवनाथ गाउँपालिकाले पनि प्रदेश सरकारलाई अनुरोध गरेको छ । पञ्चेश्वर गाउँपालिकाले पनि एम्बुलेन्स किन्ने तयारी गरेको प्रवक्ता दशरथ मङ्गोलाले जानकारी दिए ।
सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाको केन्द्र र अन्य केही वडा सडक सुविधा नपुगेकोले सडक पुगेपछि मात्रै एम्बुलेन्स खरिद गरिने जनाइएको छ । सिगास गाउँपालिकाले सडकलाई प्राथमिकतामा राखेकोले सडक पुगेपछिमात्रै एम्बुलेन्स किन्ने गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए ।
स्थानीय सरकारले एम्बुलेन्स सेवा दिन नसक्दा कुनै जटिल बिरामी हुँदा तथा दुर्घटना हुँदा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ ।
एम्बुलेन्स सुविधा नहुँदा यहाँका नागरिकले बिरामीलाई अझै पनि बोकेर स्वास्थ्यसंस्था तथा अस्पताल लैजानुपर्ने बाध्यता रहेको छ ।
दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौडी नगरपालिकामा भने एम्बुलेन्स सेवा सञ्चालनमा रहेको छ ।
दशरथचन्द नगरपालिकामा रहेको जिल्ला स्वास्थ्य कार्यालय र वडा नं २ मा रहेको देहिमाण्डौँ स्वास्थ्य चौकीमा एम्बुलेन्स सञ्चालनमा रहेको प्रवक्ता चक्रप्रसाद शर्माले जानकारी दिए ।