सदरमुकाम दैलेख बजारको सनराइज स्कूलमा यूकेजीमा अध्ययनरत एक बालक मृत अवस्थामा फेला परेका छन् ।
पुस ३ गते दिउँसो विद्यालय हाताभित्रै हराएका ६ वर्षीय बालक हिम्मत शाहीको खोजी गर्ने क्रममा पुस ४ गते विहान विद्यालयको पानी ट्याङ्कीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
ठाँटीकाँध गाउँपालिका-३ बिसला घर भई बच्चा पढाउनकै लागि दैलेख सदरमुकाममा डेरा गरी बसेका तपेन्द्र शाही र हेमा शाहीको पहिलो सन्तान विद्यालय हातामै मृत फेला परेको विषयलाई परिवारले विद्यालयको लापरवाही भएको भन्दै आक्रोश पोखेका छन् ।
तपेन्द्र वैदेशिक रोजगारीमा गएपछि चार वर्षेखि हेमाले बच्चा पढाउन सदरमुकाममा बस्दै आएकी हुन् ।
शौचालय नजिकै पानीको ट्याङ्कीमा डुबेर मृत्यू भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । उनले घटनाको अनुसन्धान जारी रहेको बताए ।
शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको छ । बालक मृत भेटिएको खबरपछि आमा हेमा शाही बेहोस भएकी छिन् ।