INSEC Online

📅 २०८३ जेष्ठ २१

कास्की कारागारका ४ सय १३ जना कैदीबन्दी फर्किए

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते कास्की कारागार र बाल सुधार गृहमा आक्रमण भएपछि भागेका कैदीबन्दी र बालबालिकाहरु फर्किने क्रम जारी छ । कास्की कारागार प्रशासनले दिएको तथ्याङ्कअनुसार हालसम्म ४ सय १३ जना कैदीबन्दी फिर्ता भइसकेका छन् भने अझै ३ सय ६० जना फरार रहेका छन् ।

आन्दोलनकारीले आक्रमण गरेपछि कैदीबन्दीहरू सुरक्षाका लागि बाहिर निस्केको र अहिले अवस्था सामान्य बन्दै गएकोले कैदीबन्दीलाई स्वेच्छाले फर्किन आग्रह गरिएको कारागार प्रमुख राजेन्द्र शर्माले जानकारी दिनुभयो । कास्की कारागारमा आन्दोलनअघि ७ सय ७३ जना कैदीबन्दी रहेका थिए । तीमध्ये महिलाको ब्लकमा ३५ जना र पुरुषका ब्लकमा ब्लकमा ७ सय ३८ जना बस्दै आएका थिए । फिर्ता नआएका कैदीबन्दीहरूलाई प्रहरीमार्फत खोजी कार्य तीव्र बनाइएको कारागार प्रमुख शर्माले बताउनु भयो । सम्पर्कमा नआएकाहरूका हकमा प्रहरीलाई सूचना दिने अनि प्रहरीले खोजेर ल्याउने प्रक्रिया अघि बढाइएको साथै प्रहरी प्रशासनले पनि कैदीबन्दीहरूलाई स्वेच्छाले फर्कन आह्वान गर्दै गर्दा ढिलाई गरे कडाइका साथ कानुनी कारबाही हुने समेत दिएको जानकारी दिनुभयो ।

त्यसैगरी, पोखरा महानगरपालिका–१९ ग्यारजातीस्थित बाल सुधार गृहमा रहेका १ सय ९ मध्ये ४९ जना बालक फर्किएका छन् र बाँकीकोे खोजी कार्य भइरहेको सुधार गृह प्रमुख डासी पौडेलले बताउनु भयो । पौडेलका अनुसार आन्दोलनकारीले गेट र झ्यालढोका तोडफोड गरेपछि बालकहरु भागेका थिए।

सञ्जय रानाभाट

अन्य

भिडियो