जिल्लाका सबै स्थानीय तहका ८४ ओटा वडामध्ये अधिकांश वडामा वडा सचिव नहुँदा सेवाग्राहीका कामकाज प्रभावित भएका छन् ।
सरकारले स्थानीयस्तरमै सरकारी सेवा प्रदान गर्ने भनेपनि कर्मचारीको अभावमा सेवा पाउन नसकेको नागरिकको गुनासो छ ।
जिल्लाका ८४ वडा मध्ये ५० वडामा सचिव नभएको सम्बन्धित स्थानीय तहहरूले जनाएका छन् । ‘हाम्रो गाउँपालिकाका ६ वडामध्ये एक जना पनि सचिव छैनन् । प्राविधिक सहायकहरूलाई सचिवको काम गर्ने गरी जिम्मेवारी तोकेका छौँ । अन्य काम प्राविधिक सहायकमार्फत गराएपनि घटना दर्ताका लागि समस्या भएको छ ।’-शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउदले भने ।
घटना दर्ताका लागि पञ्जिकाधिकारी हुनु पर्ने भएपनि एकजना पनि सचिव नभएका कारण सेवा दिन समस्या भएको अध्यक्ष साउदले बताए । कर्मचारी व्यवस्थापनका लागि जिल्लामा कुरा राखेपनि अहिलेसम्म समस्या समाधान नभएको अध्यक्ष साउदले गुनासो गरे ।
पञ्चेश्वर गाउँपालिमा पनि ६ वडामध्ये तीन वडामा मात्रै सचिव छन् । सचिव भएका वडामा समेत सचिव कार्यालयमा नबस्ने गरेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले गुनासो गरे । उनले भने-‘आधामा सचिव छैनन् । भएका वडामा पनि बस्दैनन् । विद्युत, इन्टरनेट आदिको समस्या देखाउँछन् ।’
कर्मचारीको अभावमा सेवाग्राहीलाई सेवा दिन नसकिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए ।
‘सिगास गाउँपालिकाका नौ वडामध्ये सात वडामा सचिव छैनन् । ‘गाउँपालिकामा पनि कर्मचारीको त्यस्तै समस्या छ । म आफैँ पनि चिठ्ठी-पत्र दर्ता गर्नेदेखि लिएर अरू काम समेत गरिरहेको छु । सेवाग्राहीलाई व्यक्तिगत घटना दर्तामा साह्रै समस्या भएको छ ।’-उनले भने ।
दशरथचन्द नगरपालिकाका पनि सबै वडामा सचिव छैनन् । ‘कर्मचारी आउने जाने क्रम चलिरहेको छ । एक दुई वडामा सचिव कम छन् । यस्तै काम चलाइरहेका छौँ ।’-प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले भने ।
पुरचौंडी नगरपालिकामा पनि १० वडामध्ये सात वडा सचिवविहीन रहेको नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताए । उनले भने-‘जनप्रतिनिधिहरूले नीति, नियम, योजना बनाउने हो । तर, कार्यान्वयन गर्ने त कर्मचारीले नै हो । वडामा सचिव नहुँदा काम गर्नै गाह्रो भएको छ ।’
दोगडाकेदार गाउँपालिकामा पनि दुई वडामा सचिव छैनन् । सचिव भएका वडाका कर्मचारी पनि गाउँपालिकामा काजमा ल्याइएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।
‘गाउँपालिकामा एकजना लेखापाल मात्रै नयाँ कर्मचारी छन् । अरू सबै वडाका सचिव र प्राविधिकले काम चलाइरहेका छौँ ।’-उनले भने ।
सुर्नया गाउँपालिकाका पनि तीन वडामा सचिव छैनन् । वडा कार्यालयमा सचिव नहुँदा कामकाजका लागि गाउँपालिका धाउनु परिरहेको स्थानीयबासीले गुनासो गरेका छन् ।
सिगास गाउँपालिका थालाकाँडाका पदम रोकायाले भने-‘सिंहदरबार गाउँमा आयो भन्थे । खोइ ! हाम्रो समस्या त अझै समाधान भएको छैन ।’
स्थानीय तह र वडामा सचिव नभएको बिषयमा जिल्लामा पटक पटक छलफल गरेको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए ।
उनले भने-‘हामी स्थानीय तहमा कर्मचारीको अभावका बिषयमा जानकार छौँ । तर, माथिबाटै कर्मचारी आएका छैनन् । स्थानीय तहमा कर्मचारीको समस्या समाधानका लागि पहल गर्छौँ ।’
चुनावताका सबै काम गाँउमै हुन्छ भनेर विश्वस्त भएका जनताहरू अहिले कर्मचारीको अभावमा सेवा नपाउँदा समस्यामा परेका छन् ।