भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजी पुस्ताले ०८२ भदौ २३ गते २४ गते चलाएको आन्दोलनमा कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीका ५७ ओटा भवनमा आगजनी र तोडफोड भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको प्रारम्भिक विवरण अनुसार आन्दोलनका क्रममा प्रदेशका ५७ ओटा प्रहरीका भवनमा आगजनी र तोडफोड भएको हो ।
आन्दोलनका क्रममा तोडफोड भएकामध्ये २४ ओटा भवन आन्दोलनका क्रममा पूर्ण क्षति भएको कोशी प्रदेश प्रहरी, कार्यालय विराटनगरका एसएसपी दीपक पोख्रेलले बताउनु भयो । उहाँका अनुसार ३३ ओटा प्रहरीका भवनहरूमा आंशिक क्षति पुगेको छ । अहिले प्रहरीले क्षतिग्रस्त भवनको मात्रै तथ्याङ्क सङ्कलन गरिरहेको छ ।
भवनमा भएका फर्निचर, कम्प्युटरलगायतका भौतिक सामाग्री, कागजपत्रको क्षतिको विवरण सङ्कलन हुने क्रममा रहेको एसएसपी पोख्रेलले बताउनु भयो ।
क्षति भएका भवनहरूमा झापा, मोरङ र सुनसरीमा धेरै क्षति भएको छ । झापामा २२ ओटा, मोरङमा १८ ओटा र सुनसरीमा १४ ओटा प्रहरीका भवनमा क्षति पुगेको छ ।
आन्दोलनका क्रममा अराजक समूहले उत्पात मच्चाउँदा ८४ ओटा प्रहरीका सवारी साधनमा क्षति पुगेको छ । तीमध्ये ७९ ओटा काम नलाग्ने अवस्थामा छन् । पाँच मर्मतपछि प्रयोगमा ल्याउने सकिने प्रहरीले जनाएको छ ।
क्षति भएकामध्ये आठ ओटा हेभी सवारी साधन छन् । यस्तै प्रहरीले चढ्दै आएको २२ ओटा लाइट भ्यान आन्दोलनमा पूर्ण रूपमा क्षति पुगेको छ । ५४ ओटा मोटरसाइकलमा क्षति पुगेको छ ।
प्रदर्शनका क्रममा ढुङ्गामुढा प्रहारबाट कोशी प्रदेशमा १ सय १४ जना प्रहरी घाइते भएका छन् । घाइते भएकामध्ये ६ जनाको अहिले पनि उपचार भइरहेको छ । ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । एकजना आइसीयुमा उपचाररत रहेका छन् ।
जेनजी आन्दोलनका क्रममा प्रहरीसँगको झडपमा प्रदेशभर ४६ जना घाइते भएका छन् । प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय भन्दा मुनिका प्रहरीका कार्यालयहरू विस्थापित भएपनि अहिले पुनस्थापित हुने क्रममा छन् ।
आन्दोलनका क्रममा नेपाल प्रहरी बाहेक ट्राफिक प्रहरीका १२ ओटा भवनमा क्षति पुगेको छ । प्रादेशिक ट्राफिक प्रहरी कार्यालय इटहरीमा पनि प्रदर्शनकारीले क्षति पुर्याएका छन् ।