आन्दोलनका क्रममा ०८२ भदाै २३ र २४ गते घाइते भएका प्रहरीहरुकाे स्वास्थ्य अवस्था र घटनाका सन्दर्भमा इन्सेकले महाराजगञ्जस्थित प्रहरी अस्पतालमा असोज ५ गते स्थलगत अनुगमन गरेको छ ।
अनुगमनमा क्रममा प्रहरी जवान ४० वर्षीय नवराज उपाध्यायले कालीमाटी क्षेत्रमा भदौ २४ गते आन्दोलन नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारीले ढुंगा र इँटा प्रहार गर्दा घाइते भएको बताउनु भयो । त्यसैगरी, प्रहरी जवान २७ वर्षीय नरिन्द्रसिंह धामले भदौ २४ गते ठिमी प्रहरी चौकीमा आन्दोलनकारीले आक्रमण गर्दा घाइते भएको बताउनु भयो ।
त्यस्तै प्रहरी जवान ४२ वर्षीय चिजकुमार कुमालले कोटेश्वरस्थित प्रहरी चौकी जोगाउने क्रममा प्रदर्शनकारीले आक्रमण गर्दा घाइते भएको बताउनु भयो । उहाँका अनुसार प्रदर्शनकारीहरूले प्रहरी चौकीमा ढुंगा प्रहार गर्नुका साथै आगजनी गरी बाहिर निस्केका प्रहरीलाई ढुंगा, लाठी र फलामका रडले आक्रमण गरेका थिए ।
साथै, महाराजगञ्ज प्रहरी चौकीमा ड्युटीमा रहेका प्रहरी जवान ३२ वर्षीय रामबहादुर कामीको भदौ २४ गते प्रदर्शनकारीको आक्रमणबाट छाती, औंला र टाउकोमा चोटपटक लागी घाइते भए । संसद भवनमा ड्युटीमा रहेका प्रहरी जवान ३७ वर्षीय दिलबहादुर सिंजाली मगरलाई प्रदर्शनकारीहरूले भवनभित्र छिरेर आक्रमण गर्दा टाउकोमा गम्भीर चोटपटक लागेको छ भने सहायक हवल्दार ३७ वर्षीय रामकुमार थारूको पनि सोही दिन आन्दोलनकारीको आक्रमणमा परेर खुट्टा भाँचिएको छ ।
त्यस्तै प्रहरी हवल्दार ४६ वर्षीय चक्रबहादुर कटुवाललाई स्पाइनल इन्जुरीसहित टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । उहाँले लगातार विन्ती गर्दा पनि आन्दोलनकारीहरूले कुटपिट गरेका कारण जीवनरक्षाका लागी तिनकुने स्थित प्रहरी चौकीबाट अन्य प्रहरीहरूसहित बागमती नदी तरेर भाग्नु परेको बताउनु भयो ।
प्रहरी निरीक्षक ४९ वर्षीय रोशनकुमार श्रेष्ठ भद्रकाली प्रहरी चौकीमा पोस्टिङ्गका क्रममा भदौ २४ गते बाहिरको भीड नियन्त्रण गर्न नसकी भाग्दा चौकी भित्रै पल्टिएर एउटा खुट्टा भाँचिएको छ ।
प्रदर्शनकारीको आक्रमणमा परी प्रहरी कार्यालय सहयोगी ३३ वर्षीय रामबहादुर योञ्जनको टाउको, आँखा, ढाड र छातीमा चोटपटक लागेको छ । उनी दोश्रो दिनको प्रदर्शनमा भीडले लाठी र रडले आक्रमण गर्दा घाइते भएका हुन् ।
उक्त आन्दोलनमा घाइते भएका २ सय १९ जनालाई उपचारका लागी प्रहरी अस्पतालमा लगिएकोमा ४५ जनालाई भर्ना गरिएको थियो । भर्ना गरिएका मध्ये हाल दुईको उपचार भइरहेको प्राविधिक एस् पी रामेश्वर अधिकारीले बताउनु भयो ।
अनुगमन टोलीमा इन्सेक केन्द्रीय कार्यालयका सूचना अधिकृत कृष्ण गौतम, बागमती प्रदेश संयोजक शिव खकुरेल र इन्सेकका सहायक अधिकृत अनमोल पन्त रहनु भएको थियो ।

