नाम्खा गाउँपालिका–६ लिमीका स्थानीयहरू चार महिनादेखि त्रिपालमा बस्दै आएका छन् । ०८२ जेठ १ गते राति आएको बाढीसहितको पहिरोले गाउँ आसपासमा क्षति पुर्याएपछि तिल गाउँका बासिन्दा त्रीपालमा बस्न बाध्य भएका छन् । गाउँको सिरानबाट बाढीसहितको पहिरोले क्षति बनाउँदा १९ घरधुरीका ३३ जना स्थानीय त्रिपालमा बस्न बाध्य भएका हुन् ।
उनीहरु पुनः पहिरो आउँछ कि भन्ने त्रासले गाउँभन्दा टाढा रहेको विद्यालयको चौरमा त्रिपाल टाँगेर बसेका हुन् । गाउँ नजिकैको खोलामा बाढी आउँदा उनीहरु थप त्रसित बनेका छन् । गाउँमा बाढीले विभिन्न भौतिक पूर्वधारदेखि खेतियोग्य जमीनमा क्षति पुर्याएको छ ।

पहिरोले गाउँ नजिकै रहेको १५ किलोवाटको जलविद्युत समेत बगायो । उक्त जलविद्युत आयोजना मर्मतको काम अझै हुन सकेको छैन । जसका कारण यहाँका नागरिक चार महिनादेखि अन्धकारमा बस्दै आएका छन् । त्यस्तै बाढीले खानेपानीको संरचनामा समेत क्षति पुर्याएपछि चार महिनादेखि नै खोलाको दुषित पानी पिउन बाध्य भएको नाम्खा गाउँपालिका–६ तिल गाउँका स्थानीय कन्जोक फुर्व लामाले गुनासो गर्नुभयो ।
खाद्य संकटको जोखिम
तीलगाउँ हुम्लाको सबैभन्दा उच्च भेगमा पर्ने भएकाले यहाँ उवा बाहेक अरु अन्न उत्पादन हुँदैन् । घर भित्र्याउने समयको उवाबाली बाढीले सखाब बनाएको छ । मुख्य अन्नबाली नै सखाप बनाएपछि भोकमारीका् चिन्ता बढेको वडा नम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङले बताउनु भयो । ‘गाउँमा लगाएको मुख्य बाली उवा सबै बगाएको छ । अन्य युवायुवती रोजगारीका लागि चीन पुगेका छन्,’ उहाँले भन्नुभयो, ‘गाउँमा बुढापाका र बालबच्चा छन् । यदी समयमा नै राहत दिन सकिएन भने उनीहरुलाई भोकमारीको समस्या पर्ने सम्भावना बढी देखिन्छ ।’
आवतजावतमा समस्या
०८२ जेठ १ गते आएको बाढीपहिरोले गाउँको आवतजावतका लागि बनाइएको पुल बगाएपछि स्वास्थ्य सेवा सञ्चालनमा समस्या भएको छ । यसले गर्दा औषधी, खोप र स्वास्थ्य सेवा प्राप्त गर्न गाउँवासीलाई अत्यन्तै कठिनाइ भएको छ । बाढी पहिरोले पुल बगाएपछि जोखिमपूर्ण अवस्थामै स्वास्थ्यकर्मी, स्थानीयको सहयोगमा औषधी र स्वास्थ्य सामग्रीहरु जेखिम मोलेरै पुर्याउने गरिएको छ ।

राहतको प्रखाई
तिलगाउँमा पहिरोले छेदबिच्छेद बनाएपछि स्थानीयहरु राहतको पखाईमा बसेका छन् । जेठ महिनामा पाक्ने उवा कात्तिक मंसिरसम्म खानलाई पुग्थ्यो । तर सबै बगाएपछि के खाने कसरी घरपरिवार चलाउने भन्ने चिन्तामा तिलगाउँका स्थानीय छन् । रेडक्रस, बाणिज्य बैँक र नाम्खा गाउँपालिकाले केही राहत सहयोग गरेपनि अन्यत्र निकायबाट उनीहरुले राहत पाउन सकेका छैनन् ।
उनीहरुले अहिले स्थानीय, प्रदेश र संघीय सरकारलाई राहतको तत्काल व्यवस्था गरिदिन आग्रह गरेका छन् । अहिलेसम्म कोही कसैले रातहका लागि कुनै पहल नगरेको वडाध्यक्ष तामाङले बताउनु भयो । आफुले सम्बन्धित निकायमा क्षतिबारे जानकारी गराउनुका साथै राहत उद्धारको पहल गरेको बताउनु भयो ।
