१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सुरूङ्गा नपा–४ मधुपट्टीका २४ वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई मङसिर २७ गते चार वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतको आदेशमा ०७४ भदौ १ गते पुर्पक्षका लागि ४० हजार धरौटी राखी तारेखमा रिहा भएका आरोपितविरूद्धको अभियोग दावी पुग्ने अन्तिम फैसला भएको जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलले बताए ।
सुरूङ्गा नपा–४ स्थित हरिनारायण चौधरीको फुलबारीमा ०७४ साउन ७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७४ साउन १२ गते उजुरी दिएकी थिइन् ।
प्रहरीले आरोपितलाई साउन १२ गते गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान नपा–३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा ०७४ साउन १२ गते गरिएको थियो ।
पीडितले घाँस काटिरहेका बेला हातपात गरी यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको आरोप लगाएकी थिइन् भने आरोपितले नसोधी घाँस काटेकाले घाँस खोसेको तर बलात्कार प्रयास नगरेको बताउँदै आएका थिए ।