INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिलो चौमासिक सकिएको एक महिना बित्दा पनि सुरक्षा भत्ता नपाएको गुनासो

यस आर्थिक वर्षको पहिलो चौमासिक सकिएको एक महिना बितिसक्दा पनि सात ओटै गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको ज्येष्ठ नागरिकले गुनासो गरेका छन् ।

कर्मचारी अभाव र निकासा नै ढिलो हुँदा भत्ता वितरण गर्न नसकिएको गाउँपालिकाहरूले जनाएपनि सेवाग्राहीले भने गाउँपालिकाहरूले बेवास्ता गरेको आरोप लगाएका छन् ।

बृद्धभत्ता पाउने निक्कै ठुलो आशा भए पनि समयमा पाउन नसकेको सिमकोट गाउँपालिका–५ की पञ्च रावतले गुनासो गरेकी छन् । भत्ता चौमासिक रूपमा पाउनु पर्ने भएपनि समयमा नपाउँदा मिठो खान र राम्रो लाउन नपाएको उनको गुनासो छ ।

‘भत्ताबाट आएको पैसाले चिसोमा बाक्लो ज्याकेट किन्ने सपना पनि पूरा भएन । भने जसरी दसैँ मनाउन पनि पाइएन के गर्ने ?’–खार्पुनाथ गाउँपालिका–१ का मनविर शाहीले भने ।

सामाजिक सुरक्षा भत्ता नपाउने रावत र शाही हुम्ला जिल्लाका उदाहरण मात्र हुन् । जिल्लाका सात ओटै गाउँपालिकाका ४४ ओटा वडाका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले भत्ता पाउन सकेका छैनन् ।

‘कर्मचारीको समस्या र गाउँपालिकाको अन्तिम लेखा परीक्षण गर्ने कार्य ढिलो भएको कारण निकासा ढिलो हुँदा दसैँमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकिएन ।’–नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर नेपालीले भने ।

तर, दसैँ बितेको दुई महिना बितिसक्दा पनि उक्त भत्ता गाउँपालिकाले वितरण नगरेको पाइएको छ ।

यतिबेलासम्म सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको स्वीकार गदै खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले कर्मचारी अभाव पनि भत्ता वितरणका लागि प्रमुख समस्याको रूपमा रहेको बताए ।

नाम्खा र खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जस्तै सिमकोट, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोटको पनि जबाफ छ ।

खार्पुनाथ गाउँपालिकामा ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाका लागि प्रति चौमासिक करिब  ५० लाख रुपियाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिन्छ ।

खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शाहीका अनुसार गाउँपालिकामा वडा सचिव नभएकाले र नेपाल सरकारले सचिवको पदपूर्ति गर्न नसकेपछि उक्त रकम वितरण गर्न नसिकएको हो ।

सविधानको धारा ४३ मा सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएको छ । जसअन्र्तगत आर्थिक रूपले विपन्न अशक्त र असाय अवस्थामा रहेका, असाय एकल महिला, अपङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षा हकको व्यवस्था गरिने भनिएको छ ।

अन्य

भिडियो