INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिकलाई यातायात भाडा सहुलियत दिइने

दैलेखका सबै यातायात व्यवसायीले हरेक गाडीमा कम्तीमा दुई जना ज्येष्ठ नागरिकलाई प्रचलित भाडामा ५० प्रतिशत सहुलियत दिने भएका छन् ।

Photo20181203Dailekh (2)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर १७ गते दैलेखमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यातायात व्यवसायीहरूले सहुलियत दिने सहमति जनाएका हुन् ।

ज्येष्ठ नागरिकहरूले सहुलियत नपाएका भन्ने जनगुनासोपछि आयोजना गरिएको छलफलपछि नागरिकता वा ज्येष्ठ नागरिक परिचयपत्रका आधारमा ६० वर्षपुगेका ज्येष्ठ नागरिकलाई सुविधा दिइने सर्वपक्षीय छलफलबाट निर्णय गरिएको छ ।

कुनै सवारी साधनमा एकै पटक धेरै ज्येष्ठ नागरिक यात्रु भएमा अशक्त, अपाङ्गता भएका व्यक्ति, दलित र महिलालाई बढी प्राथमिकता दिएर कम्तीमा दुई जना ज्येष्ठ नागरिकलाई प्रचलित भाडामा ५० प्रतिशत सहुलियत दिने मापदण्ड तोकिएको छ ।

Photo20181203Dailekh (1)

निर्णयमा प्रत्येक सार्वजनिक यातायातका साधनले महिला, ज्येष्ठ नागरिकको आरक्षित सीट राख्नुपर्ने, गाडीभित्र यात्रुले देख्ने गरी गाडीको नम्वर लेखिनुपर्ने, यात्रुहरुसँग सरल र नम्र व्यवहार गर्न सुझाव दिइएको छ ।

अन्तरक्रिया कार्यक्रममा नारायण नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्रप्रसाद उपाध्याय, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटा, नेकपाका नेता बरुनाथ योगी, ज्येष्ठ नागरिक सङ्घका कर्णाली प्रदेश उपाध्यक्ष वीरबहादुर भण्डारी, अधिवक्ता खड्गबहादुर सिजापती, पत्रकार भूपेन्द्र शाही समेतले जेष्ठ नागरिकलाई यातायात सहुलियत र सार्वजनिक यातायात सेवाको प्रभावकारिताबारे राय र सुझाव दिएका थिए ।

त्यसबखत उनले ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ अनुसार सार्वजनिक सवारी यातायातमा ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत सहुलियत र त्यसको प्रभावकारी कार्यान्वयन प्रणालीका विषयमा इन्सेकका जिल्ला प्रतिनिधि अमर सुनारले सहजीकरण गरेका थिए ।

अन्य

भिडियो