सुद्धोधन गाँउपालिका-४ का राजाबावु भनिने दिपेन्द्रकुमार चौधरीको हत्या र हत्या पछि सिर्जना भएको घटनाको मङ्सिर ९ गते मानव अधिकारकर्मीको टोलीले स्थलगत अनुगमन गरेको छ ।
इन्सेक जिल्ला प्रतिनिधिको समन्वयमा, राष्ट्रिय मानव अधिकार आयोग, माहुरीहोम, मानव अधिकार निगरानी समूह, नेपाल पत्रकार महासङ्घ र मानव अधिकार शान्ति समाज रूपन्देहीलगायतका सङ्घ संस्था आबद्ध टोलीले स्थलगत अनुगमन गरेको हो ।
टोलीले जिल्लास्थित मानव अधिकारकर्मी, सञ्चारकर्मी, स्थानीय समाजसेवी तथा सुरक्षा निकायका प्रमुखहरूलाई भेटेर घटनाको जानकारी लिएको छ ।
मङ्सि ७ गते राति करिव ९ बजेको समयमा दिपेन्द्र चौधरीलाई हत्या गरेपछि मङ्सिर ८ गते सुद्धोधन गाँउपालिका-४ का अजित पाण्डे, रमाकान्त पाण्डेको घर र कम्पाइन मेशिन, टेक्टर, मोटरसाइकललगायतमा आक्रोशित भीडले आगजनी गरेको थियो । उनीहरूले लवनीस्थित पेट्रोल पम्प तथा गाउँपालिकाको कार्यालय रहेको घरमा समेत आगजनी प्रयास गरेपनि सुरक्षाकर्मीले रोकेका थिए ।
मृतक पक्षले मङ्सिर ८ गते भैरहवा मेडिकल कलेजबाट शव ल्याएर लवनी चोकको राखि दिनभर प्रदर्शन गरेका थिए । सुरक्षाकर्मीर स्थानीयबीच दिनभर जसो मुटभेड भएको थियो ।
प्रहरीले भिड नियन्त्रण गर्न ४७ राउण्ड अश्रु ग्यास, १२ राउण्ड हवाइफायर गरेको जनायो । प्रहरीले भिड नियन्त्रण गर्न कठिन भएपछि पछि हटनु परेको प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेलले बताए ।
मानविय क्षति नहोस भनेर प्रहरी आफु घाइते हुँदा समेत गोली नचलाएको प्रजिअ पोखरेलको भनाई छ । मृतकका आफन्तद्वारा घटनामा सङ्लग्न रहेको आरोपमा अजित पाण्डे, रमाकान्त पाण्डेलगायत सात जना विरूद्ध मङ्सिर ९ गते किटानी उजुरी दर्ता गराएका थिए ।