त्रिवेणी गाँउपालिका–१ बल्लेजुराकी ४२ वर्षीया ईन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयमप्रकाश बुढालाई मङ्सिर १ गते बन्दुक र खुकुरी प्रहार गरी ईन्द्रकलाका ४९ वर्षीय पति शक्तबहादुर बुढाले हत्या गरेको प्रहरीले जनाएको छ ।
पत्नी र छोराको हत्यापछि आत्महत्याको प्रयास गर्दा सामान्य घाइते भएकाले उनलाई उपचारका लागि सदरमुकाम मुसिकोटस्थित जिल्ला अस्पताल सल्लेमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रूकुमका डिएसपी सुमित खड्काले बताए ।
मृतक आमाछोराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा पुर्याइएको छ । शक्तबहादुर एक महिनादेखि घर भन्दा बाहिर बस्दै आएको र नियमित रूपमा मदिरा सेवन गर्ने गरेको स्थानीयले बताएका छन् ।
घरमा जेठो छोरा, बुहारीलगायत अन्य सदस्यहरू भएपनि अर्को घरमा बसेकाले उनीहरू यसबाट जोगिएको बताइएको छ ।