INSEC Online

📅 २०८३ जेष्ठ २१

गण्डकी प्रदेशका जिल्ला कारगारबाट १ हजार १ सय ९४ र बालसुधार गृहबाट १ सय ९ जना कैदीबन्दी भागे

गण्डकी प्रदेशका विभिन्न जिल्लामा जेन–जि प्रदर्शनकारीहरूले भदौ २३ र २४ गते गरेको विरोध प्रर्दशन र सरकारी तथा नीजि भवनमा गरेको आगजनी र तोडफोको मौका छोपि कारागारका कैदीबन्दी भागेका छन् । खासगरी भदौ २४ गते दिउँसो भएको तोडफोड र आगजनीपछि साँझ परेपछि कारागारहरूमा कैदी बन्दीहरूले तोडफोड र आगजनी गरी भागेका छन् ।

यस प्रदेशका जिल्ला कारागार तथा बालसुधार गृहबाट भागेका कैदीबन्दीहरूको इन्सेक जिल्ला प्रतिनिधिले पठाएको विवरणहरू प्रदेश कार्यालयमा प्राप्त भएको छ ।

कास्की प्रतिनिधि सञ्जय रानाभाटका अनुसार कास्की कारागारमा ७ सय ७३ जना कैदीबन्दी रहेकामा सबै कैदीबन्दी भदौ २४ गते राती भागेका थिए । केही कैदीबन्दीले फोन सम्पर्क गरेको जिल्ला कारागार शाखाका प्रमुखले  भने २७ जना कैदीबन्दी पछि समातिहाल्छ भनि नभागेर कारागारमै थिए ।

यसैगरी पोखरा महानगरपालिका–१८ स्थित बालसुधार गृहका कर्मचारी डाँसीराम रेग्मीका अनुसार भदौ २४ गते राति १० बजे अज्ञात समूहले घरेलु हतियार देखाई धाकधम्की दिँदै १ सय ९ बालकलाई भगाएको हो ।

म्याग्दी प्रतिनिधि अमृत पौडेलले दिएको जानकारी अनुसार जिल्ला कारागार शाखा म्याग्दीमा रहेका ८८ जना कैदीबन्दी मध्ये ७६ जना कैदीबन्दीहरू भागेका छन् । जिल्ला कारागार शाखा म्याग्दीका प्रमुख जेलर प्रतिज्ञा सुवेदीका अनुसार कारागारमा रहेका ६ जना महिला सहित १२ जना मात्रै कारागारमा बाँकी रहेका थिए । बिहान ६ बजे सम्म अवस्था सामान्य रहे पनि त्यस पछि एक्कासी उनीहरू भागेको सुवेदीले बताउनुभयो । उहाँका अनुसार हिड्न सक्ने जती सबै भागेको पाइयो, जो केही अशक्त थिए उनीहरू कारागारमै छन् अरु भागेका रहेछन् । भागेका कैदीबन्दी ७६ मध्ये चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाएको जेलर सुवेदीले बताउनुभयो ।

इन्सेक प्रतिनिधि अमृत पौडलका अनुसार जिल्ला कारागार शाखा पर्वतमा ९३ जना कैदीबन्दी रहेकोमा १९ जना कैदीबन्दी भागेका छन् भने ७४ जना कैदीबन्दी कारागार भित्रै रहेका छन् ।

यसैगरी बाग्लुङ जिल्ला कारागार शाखामा १ सय ७७ जना कैदीबन्दी रहेका छन् । कारागारमा रहेका १४ जना कैदीबन्दीले भदौ २५ गते दिउँसो भाग्ने प्रयास गरेपछि सुरक्षा निकायले नियन्त्रणमा लिएको र उनीहरूलाई स्याङ्जा लगायतका अन्य कारागार शाखामा पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिनुभयो ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्ला कारागार शाखामा १ सय २ जना कैदीबन्दी रहेकोमा भदौ २५ गते गते साँझ कारागारका चारपाँच जना कैदीबन्दीले होहल्ला गरे पनि सुरक्षा निकायले रोक्न सफल भएको छ ।

इन्सेक तनहुँ प्रतिनिधि प्रकाश भट्टराइले जानकारी दिनु भए अनुसार भदौ २४ गते जिल्ला कारागार शाखा दमौलीमा रहेका सबै ३ सय २६ जना कैदीबन्दी भागेका छन् । कारागार शाखाका निमित्त प्रमुख पुष्पराज राउतले भागेका कैदीबन्दी कोही पनि सम्पर्कमा नआएको बताउनु भयो ।

स्याङ्जा कारागार शाखाका दिनेश मरासिनीका अनुसार जिल्ला कारागार शाखामा १ सय ४९ जना कैदीबन्दी रहेको कुनै विरोध प्रदर्शन नभएको तथा सामान्य वातावरण रहेको बताउनु भयो ।

मनाङ कारागार शाखाका प्रमुख महेशकुमार गौतमले कारागार शाखामा ८ जना कैदीबन्दी रहेको र यहाँको वातावरण सामान्य रहेको जानकारी दिनु भयो ।

मुस्ताङ कारागार शाखाका प्रमुख युवराज तिमल्सिनाले कारागार शाखामा ११ जना कैदीबन्दी रहेको र कारागारको अवस्था सामान्य रहेको जानकारी दिनु भयो ।

लमजुङको जिल्ला कारागार शाखा जिर्ण भएकोले यहाँ कैदीबन्दी नराखिने र अदालतले सजाय तोकेका वा पुर्पक्षमा पठाएका कैदीबन्दीलाई जिल्ला बाहिरका कारागारमा पठाउने गरेको कारागार शाखा प्रमुख बेनी मोक्तानले बताउनु भयो ।

पूर्वि नवलपरासीका इन्सेक प्रतिनिधि दयाराम आचार्यले जिल्लामा कारागार नरहेको बताउनु भयो ।

अन्य

भिडियो