जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सम्भावित जोखिमलाई कम गर्न प्रदर्शन, जुलुस र झडपलाई मध्यनजर गर्दै रुपन्देही जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले ०८२ भदौ २४ गते बिहान साढे ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी निषेधाज्ञामा लागू भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ ।
यसै गरि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, र सभा जस्ता विरोधका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको समेत विज्ञप्तीमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयले यस आदेशको पालना नगर्ने वा अवरोध पु¥याउने जो कोहीलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिने विज्ञप्तीमा उल्लेख छ ।
निषेधाज्ञाका क्रममा एम्बुलेन्स, दुघ, तरकारीका गाडी चल्न र नागरिकलाई निर्वाद हिँडडुल गर्न, दैनिक काम गर्न कुनै रोकतोक नभएको तर समूहमा व्यक्तिहरु जम्मा हुने, नारा जुलुस गर्ने, सभा गर्ने जस्ता कामहरु निशेध गरिएको छ ।
निषेधाज्ञाका कारण रुपन्देही जिल्लाको शैक्षिक संस्थाहरु, छोटो तथा लामो दुरीका गाडीहरु छिटफुट बाहेक पसल, उद्योग कलकारखाना सबै बन्द रहेका छन् । निषेधज्ञाका कारण बुटवल र भैरहवा क्षेत्र सुनसान रहेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्र बहादुर रानाका अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनिश्चितकालिन निषेधाज्ञा जारीको अहिले अवस्था सामान्य रहेको र प्रहरीले संयमता अपनाएर काम गरिरहेको बताउनुभयो ।



