सल्यानका पत्रकार २९ वर्षीय नोखिराम थापामाथि सारदा नगरपालिका–६ का वडाअध्यक्ष ४२ वर्षीय भिकराज बुढाथोकीको समुहद्वारा ०८२ भदौ २२ गते राति ९ बजे कुटपिट गरेको छ । कुमाख दैनिकका कार्यकारी सम्पादक थापालाई श्रीनगर स्थित करुवा रेस्टुरेन्टमा खाना खाइरहेका बेला वडा अध्यक्ष बुढाथोकी, सोही वडाका ३५ वर्षीय प्रमोद भण्डारी लगायत ५–६ जनाको समूहले कुटपिट गरेका हुन् ।
कुटपिटबाट थापाको टाउको र आँखामा चोट लागेको छ । उहाँलाई उपचारका लागि श्रीनगर स्थित मेट्रो अस्पताल सोही दिन भर्ना गरिएको थियो ।
एक हप्ताअघि सल्यान श्रीनगर बसपार्क र विद्यालयको संरचना सम्बन्धी समाचार लेखिएको कारण आफूलाई वडाअध्यक्ष र सारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीका भाई प्रमोद भण्डारीको समूहले कुटपिट गरेको पीडित थापाले बताउनु भयो । ‘श्रीनगर बसपार्क हस्तान्तरण नहुँदै चिरा परेको, स्कुलको संरचनाका विषयमा नगरपालिकाले बेवास्ता गरेको समाचार प्रकाशित गरेको थिएँ,’ पीडित थापाले भन्नुभयो, ‘त्यहि विषयलाई लिएर एक्कासी कुटपिट गरियो ।’
ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भन्दै संलग्नविरुद्ध किटानी जाहेरी लिन प्रहरीले नमानेको उहाँको भनाइ छ । वडाअध्यक्ष भिकराज बुढाथोकीले पत्रकार नोखिराम र स्थानीय दिपेन्द्र विष्टको आपसी रिसिइबीका कारण कुटपिट हुँदा आफुले कुनै हातपात नगरी छुट्याएको बताउनु भयो । सिसि टिभी फुटेजबाट घटना सम्बन्धी थप विवरण प्रष्ट हुने उहाँको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी डा. हेमबहादुर केसीले २३ गते प्राविधिक कारणले उजुरी दर्ता नभएपनि २४ गते दर्ता हुने बताउनु भयो । पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष डिल्लीराज रावतले पत्रकारमाथिको कुटपिटमा सहभागीलाई कारबाही गर्नुपर्ने विज्ञप्ति मार्पmत माग गर्नुभएको छ । पत्रकार थापा नेपाल पत्रकार महासंघ कर्णालीको प्रदेश परिषद् सदस्य र प्रेस चौतारी कर्णालीको प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।