INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीका कारण विस्थापित भएकाहरु कष्टकर जीवन जिउन बाध्य

चार दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले विस्थापित भएका कञ्चनपुरका ५९ परिवारका  २ सय १८ जना परिवार कष्टकर जीवन जिउन बाध्य भएका छन् ।

विस्थापित भएकाहरु मध्ये पनि गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र बालबालिकाहरुले सास्ती खेप्नुपरेको र विद्युत सेवा समेत अवरुद्ध भएकाले सञ्चार सेवाबाट समेत स्थानीयहरु वञ्चित हुनुपरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी सागर बोहराले बताउनु भयो ।

Photo 2025-09-02 Kanchanpur (3)

अविरल वर्षाका कारण दोधराचाँदनी नगरपालिका क्षेत्रका ५४ भन्दा बढी घरहरु डुवानमा परेका छन् । दोधाराचाँदनीका अधिकांश भाग डुवानमा परेका छन् भने स्थानीयहरुको घरमा बिजुलीबत्ती नहुँदा थप सास्ती खेप्नुपरेको छ ।

बाढीका कारण विस्थापित भएकाहरुलाई विद्यालय र आफन्तको घरमा राखिएको छ । दोधराचाँदनी नगरपालिकाका २ सय १८ परिवारहरु विस्थापित भएको र उनीहरु जनज्योति माध्यमिक विद्यालय, जमुना आधारभूत विद्यालय र अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहनुभएको डिएसपी बोहराले बताउनु भयो ।

Photo 2025-09-02 Kanchanpur (1)

दोधाराचाँदनी भएर बग्ने जोगबुढा नदीमा पानीको सतह बढेसँगै तटबन्ध फुटेर नदी गाउँ पस्दा दोधाराचाँदनी नगरपालिकाका विभिन्न स्थान डुबानमा परेका हुन् । जोगबुढा नदीको पानी गाउँ पस्दा वडा नम्बर ८ रामपुरे टापु र जर्गा टोलका करिब २५ घरपरिवारका ७० जना बासिन्दालाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको छ ।

Photo 2025-09-02 Kanchanpur (2)

यसैगरी वडा नम्बर ३ पटराखल्ला टोलका १५ घरपरिवारका ५५ जना स्थानीय बासिन्दालाई जमुना आधारभूत विद्यालयमा सारिएको छ । दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० मा रहेको सशस्त्र प्रहरी बल (बिओपी) सुन्दरनगरमा कार्यरत २३ जनालाई ओमकार माध्यमिक विद्यालयमा, वडा नम्बर ७ मा रहेको सशस्त्र प्रहरी बल (बिओपी) कञ्चभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्रको भवनमा र शान्ति टोलका १२ घरपरिवारका ४० जनालाई अम्बिका माध्यमिक विद्यालयमा सुरक्षित स्थानमा सारिएको छ ।

Photo 2025-09-02 Kanchanpur (4)

बाढीका कारण भीमदत्त नगरपालिका–१५ तल्लो गोबरियाकी जयन्ती बोहराको भैँसी गोठ भत्केको छ । सेन्सोरियल स्कुल डुबानमा परेपछि पठनपाठन समेत प्रभावित भएको छ ।

Photo 2025-09-02 Kanchanpur (5)

बाढी प्रभावितहरुको उद्धार तथा व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी खड्कबहादुर खत्रीको नेतृत्वमा प्रहरी टोली खटाइएको र उच्च जोखिम क्षेत्रबाट स्थानीयलाई सुरक्षित ठाउँमा आउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनु भयो ।

Photo 2025-09-02 Kanchanpur (6)

जिल्ला भरिनै विपद् व्यवस्थापन र उद्वारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको, भिमदत्त नगरपालिकाका वडा नम्बर ११, १२, १३ लगायत नदी तटीय क्षेत्रका धरैजसो जोखिमयुक्त ठाउँबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली पठाइएको र स्थानीय तह, सुरक्षा निकाय र राहत तथा उद्धारमा संलग्न निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो।

Photo 2025-09-02 Kanchanpur (7)

Photo 2025-09-02 Kanchanpur (8)

Photo 2025-09-02 Kanchanpur (9)

अन्य

भिडियो