INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिचान नखुलेको समूहको खुकुरी प्रहारबाट शिक्षक घाइते

खप्तडछान्ना–३ सिप्टिकोट घर भई मस्टा गाउँपालिका–१ रनाडास्थित माइतीबन निमाविका अंग्रेजी विषयका शिक्षक ४१ वर्षीय धुब्रबहादुर रोकायामाथि ०८२ भदौ १५ गते राति पहिचान नखुलेको समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

खुकुरी प्रहारबाट शिक्षक रोकायाको अनुहारदेखि कानसम्मको भागमा गम्भीर चोट लागेको छ । घाइतेको जिल्ला अस्पताल बझाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

दुई–तीन जनाको समूहमा आएका पहिचान नखुलेको समूहले आफूसँग २ हजार रुपियाँ माग्दा दिन नमानेपछि आफूमाथि धारिलो हतियार प्रहार गरिएको घाइते रोकायले बयान गरेको आफन्त शैलेन्द्र रोकायाले बताउनुभयो ।

पछिल्लो समय चैनपुर क्षेत्रमा लागुऔषध दुरुपयोग र मदिराजन्य समस्या बढ्दै गएको भन्दै स्थानीयले यस किसिमका घटनामा संगठित समूहको संलग्नता रहँदै आएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय, बझाङका  डिएसपी खगेन्द्र धमलाले घटनामा संलग्नहरुको खोजीकार्य तथा अनुसन्धान भइरहेको बताउनु भयो ।

अन्य

भिडियो