खप्तडछान्ना–३ सिप्टिकोट घर भई मस्टा गाउँपालिका–१ रनाडास्थित माइतीबन निमाविका अंग्रेजी विषयका शिक्षक ४१ वर्षीय धुब्रबहादुर रोकायामाथि ०८२ भदौ १५ गते राति पहिचान नखुलेको समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
खुकुरी प्रहारबाट शिक्षक रोकायाको अनुहारदेखि कानसम्मको भागमा गम्भीर चोट लागेको छ । घाइतेको जिल्ला अस्पताल बझाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।
दुई–तीन जनाको समूहमा आएका पहिचान नखुलेको समूहले आफूसँग २ हजार रुपियाँ माग्दा दिन नमानेपछि आफूमाथि धारिलो हतियार प्रहार गरिएको घाइते रोकायले बयान गरेको आफन्त शैलेन्द्र रोकायाले बताउनुभयो ।
पछिल्लो समय चैनपुर क्षेत्रमा लागुऔषध दुरुपयोग र मदिराजन्य समस्या बढ्दै गएको भन्दै स्थानीयले यस किसिमका घटनामा संगठित समूहको संलग्नता रहँदै आएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी खगेन्द्र धमलाले घटनामा संलग्नहरुको खोजीकार्य तथा अनुसन्धान भइरहेको बताउनु भयो ।