INSEC Online

📅 २०८३ जेष्ठ २१

माओवादी सशस्त्र सङ्घर्षमा लागेको आरोपमा जन्म कैद

धादिङको चरौदीमा हाइवे क्लियरिङमा गएका बेला ०६१ पुस १८ गते हतियारसहित भागेर माओवादी सेनामा लागेका कालिकोट शुभकालिका–५, सुकाटियाका ३८ वर्षीय सिंहबहादुर शाहीको परिवार विचल्लीमा परेको छ ।

नेपाली सेनाबाट हतियारसहित भागेर तत्कालिन माओवादी सेनामा लागेको आरोपमा सैनिक पुनरावेदन अदालतले जन्मकैदको फैसला सुनाएपछि शाहीको आठ जनाको परिवार विचल्लीमा परेको हो ।

०५९ मा तत्कालीन शाही नेपाली सेनाको तारादल गणमा सिपाही रहेका शाहीको घरमा पत्नीसहित चार छोरा र दुई छोरी छन् । पीडित शाहीकी पत्नी सुस्मीताले कात्तिक २८ गते जिल्ला सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गरी आफूलाई अन्याए भएको बताइन् ।

‘हाम्रो परवारको विचल्ली भयो । घरमा पालपोषण गर्ने कोही पनि छैन ।’–न्याय माग्न सुकाटियाबाट मान्म आएकी २८ वर्षीया सुस्मिताले भनिन्–‘नयाँ व्यवस्था आए पनि पुरानै सैनिक कानुनले दुःख दियो ।’

उनले तीन छोराछोरी घरमै छाडेर एक छोरी र दुई छोरालाई सदरमुकाम लिएर आएकी छन् । उनका अनुसार कमाइ गर्ने व्यक्ति जेल परेपछि घरमा खान, बस्नै समस्या छ ।

माओवादी नेताहरू राज्य चलाउने र माओवादी भयो भनेर अबिर लगाएर स्वागत गरिएका व्यक्तिलाई जन्मकैदको फैसला हुनु जति अन्याय अरू केही नहुने सिंहका दाजु नन्दबहादुर शाही घमनले बताए ।

सिंहबहादुरले सेनामा जागिर खाएपछि माओवादीले उनको घर लुटेर परिवार सदरमुकाम मान्म विस्थापित भएका थिए । उनको हतियार अनमिनमार्फत नेपाल सरकारले बुझिसकेको छ ।

शान्ति सम्झौतापछि द्वन्द्वकालीन मुद्दा किनारा लागे पनि आफ्नो भनसुन गर्ने कोही नहुँदा अन्यायमा परेको दाइ नन्दबहादुरको आरोप छ । उनका अनुसार ०७४ फागुन ७ गते जिल्ला प्रहरीको टोलीले घरबाटै सिंहबहादुरलाई गिरफ्तार गरेको थियो ।

नेपाली सेनाले जिल्ला प्रहरीबाटै हत्कडी लगाएर सेनाको ब्यारेक हुँदै हेलिकप्टरबाट काठमाडौँ लगेर मुद्दा चलाएको हो । सिंहबहादुरले शान्ति स्थापनाको करिब डेढ दशकपछि सेनाले आफूलाई पक्राउ गरेर कोर्ट अफ इन्क्वाइरी गठन गरी सैनिक अदालतबाट अन्यायपूर्ण रूपमा फैसला गरेको सत्यनिरुपण तथा मेलमिलाप आयोगमा गरेको अपिलमा उल्लेख छ ।

द्वन्द्वकालमा हतियारसहित भागेका भगौडा भएकाले सैनिक अदालतले शत्रु दफा लगाएर जन्मकैदको फैसला गरेको नेपाली सेनाको लिगत फाँटले जनाएको छ । नेपाली सेनाका अनुसार कब्जामा परेको भए छुटेपछि सैनिक हेडक्वाटर सम्पर्कमा गएको भए मुद्दा चल्ने थिएन ।

अन्य

भिडियो