INSEC Online

📅 २०८३ जेष्ठ २१

अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु, पाँच विद्यार्थी घाइते

त्रिवेणी गाउँपालिका–७ स्थित तिलाको जङ्गलमा अरिङ्गालले टोकेर एक बालकको मृत्यु भएको छ भने पाँच जना विद्यार्थी घाइते भएका छन् । श्री विरेन्द्र माध्यमिक विद्यालयबाट छुट्टि भएर जङ्गलको बाटो हुँदै घर फर्किरहेका विद्यार्थीहरुलाई ०८२ भदौ ५ गते अरिङ्गालले टोकेको गरेको थियो । अरिङ्गालले टोकेर घाइते भएका त्रिवेणी गाउँपालिका–७ धाक्रीपानीका सात वर्षीय मोहन परियारको भदौ ५ गते राति रोल्पा अस्पताल रेउँघामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अरिङ्गालले टोकेर घाइते भएकाहरूमा १४ वर्षीया सुनिता परियार, १० वर्षीय शंकर परियार, १० वर्षीया मनिषा परियार, आठ वर्षीय कमल परियार र चार वर्षीय आशिष परियार रहेका छन् । घाइतेहरूलाई उपचारका लागि रोल्पा अस्पताल, रेउँघा ल्याइएकोमा अवस्था गम्भीर भएका कारण थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी रोहितकुमार शाहीले जानकारी दिनुभयो।

स्थानीयवासीका अनुसार घटनास्थल आसपासको जङ्गल क्षेत्रमा अरिङ्गालको सक्रियता पहिलेदेखि नै रहेको थियो । सुरक्षाका दृष्टिले सतर्कता अपनाउनुपर्ने आवश्यकता औल्याउँदै स्थानीय प्रशासनले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

अन्य

भिडियो