INSEC Online

📅 २०८३ जेष्ठ २१

रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा

जिल्लामा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा स्थानीय सेवाग्राही समस्यामा परेका छन् । खोपको अभाव हुँदा सेवाग्राही खोप लगाउन जिल्लाबाहिर जान बाध्य भएका छन् ।

जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार गत महिनादेखि अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव छ । समस्याका बारेमा प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराउँदा समेत हालसम्म पनि उपलब्ध हुनसकेको छैन् । उहाँले भन्नुभयो, ‘गत तीन हप्तादेखि यहाँ रेबिजविरुद्धको खोपको अभाव रहेको छ । खोप अभाव बारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराइसकेका छौँ ।’

रेबिजविरुद्धको खोप सदरमुकामस्थित जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइने गरिन्छ । पछिल्लो समय जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा खोप अभाव रहेकाले जनावरले टोकेर आउने बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् ।

कुकुर, बिरालोलगायत घरपालुवा जनावर र स्याल, ब्वाँसोजस्ता जङ्गली जनावरले टोकेमा रेबिजविरुद्धको खोप लगाउनु पर्ने भए पनि खोपको अभावका कारण सेवाग्राहीहरु सेवा नपाएर फर्किने गरेका छन् ।

रेबिज भाइरसबाट लाग्ने रोग भएको र रेबिज लागेका व्यक्तिमा ज्वरो आउने, झम्झमाउने, टोकेको ठाउँमा अत्याधिक दुख्ने, पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउनेजस्ता समस्या तथा लक्षणहरु देखिने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

अन्य

भिडियो