पथरीशनिश्चरे नगरपालिका–९ पुलचोकस्थित पुनःस्थापना केन्द्र (सुधार केन्द्र) मा राखिएका पथरीशनिश्चरे नगरपालिका–२ बोक्रेका २१ वर्षीय विवेक दर्नाल झुन्डिएको अवस्थामा ०८२ साउन २६ गते फेला परेको प्रहरीले जनाएको छ ।
लागु औषध सेवनकर्ता दर्नाललाई अभिभावकले साउन १७ गते सुधार केन्द्रमा राखेका थिए ।
सुधार केन्द्रमा रहेको शौचालयमा साउन २६ गते तन्नाको पासो लगाएर दर्नाल झुण्डिएको अवस्थामा सुधार केन्द्रका कर्मचारीले फेला पारेपछि तत्काल नगर अस्पताल, पथरी पुर्याएका थिए । अस्पताल पुर्याएलगत्तै चिकित्सकले दर्नाललाई मृत घोषणा गरेका थिए ।
झुण्डिएको अवस्थामा फेला परेका दर्नाललाई सुधार केन्द्रका कर्मचारीले तन्ना काटेर अस्पताल पुर्याए लगत्तै चिकित्सकबाट मृत घोषणा गरेकाले घटना शङ्कास्पद भएको इलाका प्रहरी कार्यालय, पथरीका डिएसपी तुलसीराम अर्यालले बताउनु भयो ।
प्रारम्भिक अनुसन्धानका क्रममा सुधार केन्द्रमा यातना दिने गरेको र सोही यातना खप्न नसकेर दर्नालले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
शव पोष्टमार्टमका लागि साउन २६ गते झापाको दमक अस्पताल लगिएको र पोष्टमार्टम रिपोर्टपछि मात्र आत्महत्या हो वा हत्या स्वतन्त्र रूपमा पुष्टि हुने डिएसपी अर्यालले बताउनु भयो ।
सुधार केन्द्रका सञ्चालक कुमार विष्टले झुण्डिएको अवस्थामा फेला परेका दर्नाल लागु औषधको प्रयोगकर्ता भएको र पूरा डोज नपाएपछि तनावका कारण झुण्डिएको हुन सक्ने बताउनु भयो । सुधार केन्द्रमा राखिएकाहरूलाई श्रममा लगाउने, कुटपिट या यातना दिने जस्ता हल्ला निराधार भएको उहाँले बताउनु भयो।