रोल्पा नगरपालिका–२ रेउघास्थित जिल्ला अस्पताल पहिरोको जोखिममा परेको छ । अस्पताल भवनमुनिबाट बग्ने धाङ्सीखोलाले निरन्तर जमिन कटान गरिरहेकोले अस्पताल र त्यसको वरपरका बस्ती जोखिममा परेका हुन् । त्यस क्षेत्रको कमजोर भूगोलका कारण अस्पतालको ५० शैयाको भवनसहित आसपासको भूभाग भासिने खतरा बढेको हो ।
लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयमार्फत पहिरो नियन्त्रणको काम भइरहेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ७५ लाख रुपियाँ बजेट विनियोजन गरी १ हजार २ सय ४२ घनमिटर ग्याबिन पर्खाल लगाइएको छ । यसैगरी विगत दुई वर्षमा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमार्फत थप ३० लाख रुपियाँ बजेट पनि छुट्याइएको थियो तर कमजोर भूगोलको कारणले गर्दा अहिले गरिएको संरचनात्मक प्रयासले दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न नसक्ने देखिएको छ । रोल्पा नगरपालिका–२ का वडाध्यक्ष प्रकाश डाँगीले पहिरोको क्षेत्र फराकिलो भएको तर बजेट भने सीमित मात्रामा आउँदा समस्या समाधानमा कठिनाइ भएको बताउनु भयो ।
भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख रोबर्ट महराले जमिनको सतहबाट माटो बग्ने क्रम केही हदसम्म रोकिए पनि जमिनको भित्री संरचना नै कमजोर भएकाले जोखिम कायमै रहेको बताउनु भयो । भू तथा जलाधार व्यवस्थापन कार्यालयको अगुवाइमा बायोइन्जिनियरिङ प्रविधिको प्रयोग भइरहेको छ भने खुलखुले महिला सामुदायिक वन समूहले पनि भुजेत्रो, बाँसजस्ता बोटबिरुवा लगाएर पहिरो नियन्त्रणमा सहयोग पु¥याइरहेका छन् ।
जिल्ला अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले पहिरोको समस्या दिनानुदिन गम्भीर बन्दै गइरहेको हुँदा वैज्ञानिक अध्ययनसहित दीर्घकालीन योजना बनाउन आवश्यक रहेको र हालै निर्माण सम्पन्न भएको आधुनिक अस्पताल संरचना जोगाउन सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।