कर्णाली प्रदेश सरकारले ४ हजार ४१ जना द्वन्द्वपीडित सहिद परिवार र घाइतेहरूलाई भत्ता वितरण गरेको छ । आन्तरिक तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०८१-०८२ मा ९ करोड ६९ लाख ८४ हजार रुपियाँ द्वन्द्वपीडित सहिद परिवार तथा घाइतेहरूको सम्मान र जीवन निर्वाहका लागि वितरण गरेको छ । मन्त्रालयले सहिदका लागि ‘सहिद स्मृति भत्ता’ र घाइतेका लागि ‘जीवन निर्वाह भत्ता’ वितरण गर्दै आएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशभरका २ हजार १ सय २१ सहिद तथा बेपत्ताका परिवार र १ हजार ९ सय २० घाइतेलाई भत्ता वितरण गरिएको छ । सहिद तथा बेपत्ता परिवारका लागिमात्रै ५ करोड ९ लाख ४ हजार र घाइतेतर्फ ४ करोड ६० लाख ८० हजार गरी कुल ९ करोड ६९ लाख ८४ हजार रुपियाँ वितरण गरिएको मन्त्रालयका सूचना अधिकारी तुलसीप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक लाभान्वितले मासिक २ हजार रुपियाँका दरले वार्षिक २४ हजार प्राप्त गर्छन् ।
मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार, सबैभन्दा बढी लाभान्वित हुनेमा कालिकोट र सल्यान जिल्ला देखिएका छन् । स्थानीय तहमध्ये सल्यानको बागचौर नगरपालिकामा सबैभन्दा धेरै २ सय ९८ जना (४७ सहिद परिवार र २ सय ५१ घाइते) लाई ७१ लाख ५२ हजार रुपियाँ भत्ता वितरण गरिएको छ । मन्त्रालयको यो कार्यक्रमले सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सहिदका परिवारलाई सम्मान र घाइते भएका व्यक्तिहरूलाई जीवनयापनमा सहयोग पुर्याउने उद्देश्य राखेको सूचना अधिकारी तुलसीप्रसाद आचार्यले बताउनु भयो । यो भत्ताले पीडित परिवारलाई केही आर्थिक राहत प्रदान भएको आचार्यको भनाइ छ ।