INSEC Online

📅 २०८३ जेष्ठ २१

४६ प्रतिशत उपभोक्ता इकोली पोजिटिभ पानी पिउन बाध्य

पाल्पाका ४६ प्रतिशत भन्दा बढी खानेपानीमा इकोली पोजिटिभ पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले ८६ ओटा खानेपानी मुहान तथा योजनाहरुको नमुना परीक्षण गर्दा ४६ प्रतिशत भन्दा बढी खानेपानीमा इकोली पोजिटिभ पाइएको हो । परीक्षणका क्रममा ४० ओटा मुहानमा अर्थात ४६.५१ प्रतिशतमा इकोली पोजिटिभ भेटिएको र ४६ ओटा मुहानमा अर्थात् ५३.४९ प्रतिशतमा इकोली नेगेटिभ भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताउनुभयो ।

घरघरमा खानेपानी योजना पु¥याउने अभियान चलेपनि शुद्ध पानी वितरणमा भने ध्यान नपुगेको र उपभोक्ताहरु शुद्ध खानेपानीबाट बञ्चित भएको उहाँले जानकारी गराउनु भयो ।

जिल्लामा सबैभन्दा बढी इकाली पोजिटिभ माथागढी गाउँपालिकाको खानेपानीमा भेटिएको छ जहाँ १२ ओटा खानेपानी योजनाको नमुना परीक्षाण गरिएकोमा नौ ओटामा पोजिटिभ देखिएको छ । त्यसैगरी रैनादेवी छहरा गाउँपालिकामा ५३ नमुना सङ्कलन मध्ये २४, रम्भा गाउँपालिकामा छ मध्ये तीन, रामपुर नगरपालिकामा आठ मध्ये दुई नमुनामा इकोली पोजिटिभ देखिएको पोखरेले बताउनुभयो । पूर्वखोला गाउँपालिकामा तीन ओटा मुहानको परीक्षण गर्दा कुनै पनि नमुनामा पोजिटिभ देखिएन भने बगनासकाली गाउँपालिकामा चार ओटा नमुना सङ्कलन गरिएकोमा दुई ओटामा पोजिटिभ देखिएको पोखरेलले बताउनुभयो ।

यसरी इकोली पोजिटिभ देखिएको पानीको मुहानका उपभोक्ताहरुलाई पानी शुद्धिकरणबारे जानकारी गराउनुका साथै सम्बन्धित गाउँपालिकाको पनि ध्यानाकर्षण गराइएको पोखरेलले बताउनुभयो । इकोली र कोलीफर्म मानिसको दिसामा रहने सङ्क्रामक जिवाणु भएको र यसले मानिसको स्वास्थ्यमा असर पार्ने उहाँले बताउनुभयो ।

अन्य

भिडियो