INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्गमबस्तीका विद्यार्थीका लागि अनलाइन शिक्षण प्रभावकारी नभएको सरोकारवालाहरुको गुनासो

कारोना भाइरस सङ्क्रमणका कारण प्रभावित भएको पठनपाठनलाई  निरन्तरता दिन रेडियो तथा टेलिभिजनबाट असार १ गतेदेखि शिक्षण सुरु गर्ने सरकारले निर्णय गरेको भएपनि दुर्गम तथा विकट ठाउँका विद्यार्थीहरुका लागि प्रभावकारी नभएको सरोकारवालाले गुनासो गरेका छन ।

जिल्लाका सबै स्थानहरुमा अझै पनि इन्टरनेट, टेलिभिजन र रेडियोको पहुँच हुन नसक्दा सरकारले लागु गरेको अनलाइन शिक्षण प्रभावकारी हुन नसकेको अमरगढी नगरपालिका–५ का स्थानीय टिकाराम साउँदले गुनासो गर्नु भयो ।

परशुराम नगरपालिका–७ का कक्षा १० मा अध्ययनरत विद्यार्थी नरेश बोहराले आफूलाई अनलाइन तथा टेलिभिजनमार्फत शिक्षण भइरहेको जानकारीसमेत नभएको बताउनु भयो ।

उहाँले भन्नु भयो– “अनलाइनबाट शिक्षण गर्दा दुर्गम तथा इन्टरनेटको पहुँच नभएका विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भइरहेको छ ।”

आलिताल गाउँपालिका पनि इन्टरनेट तथा विद्युतको समस्या भएकोले माध्यमिक तहका विद्यार्थीहरुलाई अध्ययन गर्न समस्या भइरहेको अभिभावक भक्त गाहा मगरले बताउनु भयो ।

उहाँले भन्नु भयो– “अझै पनि पालिकाका धेरै स्थानहरुमा विद्युतको पहुँच पुग्न सकेको छैन् । टेलिभिजन शिक्षणले यहाँका विद्यार्थीहरुलाई समेट्न सकेको छैन ।”

सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत विद्यार्थीहरुलाई शिक्षण गराउँनु भन्दा पनि स्थानीय एफएम र रेडियोबाट शिक्षण गराउँदा अझै प्रभावकारी हुने गाहामगरको भनाइ छ ।

सिद्धनाथ माध्यमिक विद्यालयका प्राधानाध्यापक लक्ष्मीदत्त भट्टले आफ्ना विद्यार्थीहरु इन्टरनेट तथा विद्युतको पहुँच भन्दा बाहिर भएकाले पठनपाठनमा समस्या भएको बताउनु भयो ।

उहाँले भन्नु भयो– “अधिकांशको घरमा टेलिभिजन र रेडियोको सुविधा छैन् । गाउँमा रेडियो नेपाल पनि लाग्दैन । यस्तो अवस्थामा अनलाइन शिक्षण कसरी प्रभावकारी हुन सक्छ ?”

परशुराम नगरपालिकाका प्रमुख भिमबहादुर साउदका अनुसार नगरपालिका भित्रका सवै स्थानहरुमा इन्टरनेट तथा विद्युतको सुविधा नभएका कारण केहि दिन भित्रै स्थानीय एफएमहरुमार्फत विद्यार्थीहरुलाई पठानपाठन गरिने बताउनु भयो ।

अन्य

भिडियो